प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना नेताको नाममा स्थापना भएका अस्पतालका बारेमा...
प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना नेताको नाममा स्थापना भएका अस्पतालका बारेमा अझै निर्णय नभएको भन्दै आपत्ति जनाए । उपनेता गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल सङ्घीय सरकारअन्तर्गत राखिए पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएको भनी गुनासो गरे ।
देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा के कारणले निर्णय हुन नसकेको हो भनी प्रश्न गर्दै उहाँले सोबारेमा जानकारी दिन आग्रह गरे ।
आफ्नो पार्टीका नेताका नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको आरोप लगाउँदै उपनेता गच्छदारले भने, “दोस्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र संविधान निर्माण गर्ने व्यक्तित्व सुशील कोइरालाको नाम जोडिएका अस्पताललाई थप संस्थागत गर्न सरकार लाग्नुपर्छ ।”
सरकारले भने लोकतन्त्रको स्थापना र सम्वद्र्धनमा योगदान गर्ने व्यक्तिका नाममा स्थापित संस्थालाई तलमाथि गर्ने कुनै निर्णय नभएको भनी यसअघि नै स्पष्ट पारिसकेको छ । उनको वक्तव्यलगत्तै प्रमुख प्रतिपक्षी काङ्ग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षीको अवरोधपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको थियो । बैठक समाचार तयार गरुञ्जेल शुरु भएको छैन । रासस