विभागले माग्यो तथ्याँक, संघले भन्यो श्रम स्वीकृतीका लागि फाइल नै पेश गर्छाैं

श्रम मन्त्रालयले नाटकीय रुपमा २० जना युवालाई श्रमस्वीकृती दिएर मलेसिया पठाएपछि वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीमा कलिङ भिसा प्राप्त भएकाहरुको तथ्याँक संकलन गर्नेका लागि सोमबार सूचना जारी गरेको छ ।

तर, सरोकारवाला संस्था बैदेशिक रोजगार व्यवसायी संंघले भने विभागलाई तथ्याँक उपलब्ध नगराई संस्थागत श्रम स्वीकृतीका लागि फाइल विभागमै दिने जनाएको छ ।
विभागले गत शुक्रबार कलिङ भिसा आएका २० युवाहरुलाई सुटुक्क व्यक्तिगत श्रम स्विकृती दिएर मलेसिया पठाएपछि व्यवसायीहरुले विरोध गरेका थिए ।व्यवसायीहरुको विरोधलाई मत्थर पार्ने उद्देश्यले विभागले सोमबार सुचना जारी गर्दै कलिङ भिसाको तथ्याँक माग गरेको हो ।

बैदेशिक रोजगार व्यवसायी संघले सोमबार नै व्यवसायीहरुको भेला राखी विभागको सुचना असान्दर्भिक भएको टिप्पणी गरेको छ । कलिङ भिसा प्राप्त कामदारको तथ्याँक यसअघि पटकपटक मन्त्रालय र विभागमा उपलब्ध गराएको जनाउँदै संघले एउटै विषयमा एउटै निकायलाई जानकारी उपलब्ध गराउन नपर्ने निर्णय गरेको हो । साथै संघले आफ्ना सदस्य व्यवसायीहरुलाई विवरण नदिन आग्रहसमेत गरेको छ ।

सोमबार नै संघका अध्यक्ष रोहन गुरुङको हस्ताक्षर भएको विज्ञप्तीमा यसअघि मलेसियाको ओटीए टनेल स्क्वाड कम्पनीमा जान श्रम स्वीकृति प्रदान गरिएको र त्यसअघि वान स्टेप सेन्टर र भीएलएनमार्फत प्रक्रिया लिएको हुनाले अब संस्थागत श्रम स्वीकृती लिनका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलमा फाइल पेश गर्ने पनि उल्लेख गरिएको छ ।