हटाइएका ट्री गार्डहरु टेकुमा राखिएका छन् । तिनीहरुलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।
काठमाडौं । काठमाडौंको टुँडिखेल वरिपरि हुर्किएका बिरुवा र बिरुवा मरेका ठाउँमा भएका ‘ट्री गार्ड’ हटाइएका छन् । जुद्ध वारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो । यस क्रममा पहिलो दिन ३५ ओटा दोस्रो दिन ४४ र तेस्रो दिन ४६ ओटा बार निकालिएको वारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिए । उनका अनुसार कामको सुरुआत सुनधाराबाट भएको थियो ।
त्यसपछि वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, जमल, दरबारमार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेट हुँदै पुनः सुनधारासम्मका बार हटाइएका हुन् । यस क्षेत्रमा अब करिब १५ ओटा साना बिरुवा छेकिएका बार मात्र बाँकी छन् । हटाइएका ट्री गार्डहरु टेकुमा राखिएका छन् । तिनीहरुलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।
‘बिरुवा हुर्किसकेकाले यी संरचनाको आवश्यकता भएन, त्यसैले हटाइएको हो,’ महानगरका कार्य सञ्चालन शाखाका प्रमुख मीन थापाले भने, ‘ट्री गार्ड हुँदा त्यसमा जम्मा भएको फोहोरले सहरलाई कुरुप देखाएको थियो । अब सडक सफा बनाउन सजिलो हुन्छ ।’
ट्री गार्ड हटाइएका बिरुवालाई काँटछाँट गरी रङ लगाएर आकर्षक बनाउने महानगरको योजना छ ।