पर्यटकलाई लक्ष्य गर्दै पाँच करोडमा अत्याधुनिक मन्दिर

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको मनोरम दृश्य स्थल बनाइएको छ ।

नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ ।

रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको मनोरम दृश्य स्थल बनाइएको छ । मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित आधुनिक र परम्परागत रुपमा कुँदिएका झ्याल–ढोका, भित्तामा कुँदिएका धार्मिक, मनोरम दृश्य सहितको सुन्दरता देख्न पाइन्छ ।

विसं २०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले मन्दिरलाई परम्परा र आधुनिकताको संयोजन गरी भव्य रुपमा निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्गको भानुचोकबाट ३.५ किलोमिटर उत्तरमा पर्ने उक्त मन्दिर पाँच करोड रुपैयाँमा निर्माण गरिएको हो । पन्ध्र कट्ठा सात धुर क्षेत्रफलमा रहेको उक्त मन्दिरले केही पर १० कट्ठा जमिनमा विद्यालयसमेत सञ्चालन गर्ने तयारी गरेको छ । मन्दिर परिसरमा रहेको वृद्धाश्रममा अहिले पाँचजना वृद्धवृद्धा छन् । वृद्धाश्रमलाई अझै व्यवस्थित गरिँदै लाने योजना रहेको मन्दिरको स्वर्ण महोत्सव वर्ष–२०७४ मूल समारोह समितिका संयोजक तिलकराज शर्मा पौडेलले बताए । आगामी फागुन ६ गते मन्दिरको शुभारम्भ गरिने कार्यक्रम छ ।

फागुन ५ देखि फागुन १२ गतेसम्म श्रीमद् तारतमसागर १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद्भागवत कथा अनुष्ठान गरिने उनले बताए । सात दिनसम्म सञ्चालन हुने उक्त अनुष्ठान कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य श्री १०८ कृष्णमणिजीको प्रमुख सान्निध्य र नेपालका राष्ट्रपति र उपराष्ट्रपतिसमेत उपस्थिति गराउन पहल भइरहेको पौडेलले जानकारी दिए । उनका अनुसार सो समारोहमा नेपाल, भारतल तथा अन्य राष्ट्रबाट समेत सन्त, महन्त, गुरुजनलगायत एक लाख श्रद्धालु भक्तजनको सहभागिता रहनेछ । नवीनतम् प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त मन्दिर निर्माण गर्न श्रीकृष्ण प्रणामी धर्ममा आबद्ध तथा अन्य भक्तजन, व्यक्ति तथा सङ्घसंस्थाले चन्दा सहयोग गरेको संयोजक पौडेलले जानकारी दिए ।

स्थानीयको मुट्ठीदान तथा चन्दाबाट सञ्चालित मन्दिरले धार्मिक, आध्यात्मिक, शैक्षिक कार्यक्रमसँग पर्यटकीय गतिविधिमा समेत योगदान दिने विश्वास सहसंयोजक श्यामप्रसाद बरालले व्यक्त गरे । तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहा आउने पर्यटकलाई जिरौना आउने वातावरण तयार पार्न सके यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास बरालले व्यक्त गरे । यस मन्दिर भ्रमणका लागि आउने पर्यटकले मनिखोला, बुलबुले ताल, गैँडाताल, शान्तिकुञ्ज पार्क, सिराइचुली, उपरदाङ्गडी लगायतका धेरै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न सक्नेछन् ।

श्रीकृष्ण प्रणामी धर्ममा नेपालमा २० लाख र चितवन जिल्लामा मात्रै २५ हजार अनुयायी छन् । सामाजिक सेवा, आध्यात्मिक चिन्तन र परा प्रेम लक्षणा भक्ति भन्ने मूल नाराका साथ सञ्चालित श्रीकृष्ण प्रणामी धर्मले मांस, मदिरा, धुम्रपान, मद्यपान लगायतका कूलत त्याग्दै सत्कर्ममा डो¥याउन प्रेरित गर्छ ।

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष एवम् स्थानीयवासी राधेश्याम खतिवडाले हालै मात्र भारतका प्रमुख सहरको भ्रमणका क्रममा मठमन्दिरमा धार्मिक पर्यटकको उल्लेख्य उपस्थिति देखेको भन्दै पर्यटकीय नगरी सौराहासँग यस मन्दिरलाई जोड्न सके जिल्लामा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने विश्वास व्यक्त गरे । मन्दिर क्षेत्रमा अवलोकन र दर्शनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन् ।

– नारायण अधिकारी (रासस)