सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु

देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ ।

अक्रा । सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् । उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् ।

देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ । “घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १६ पुगेको छ,” स्थानीय सरकारका एक जना नेता क्रिस्टोफर बौट्बीलले एएफपीलाई भने । दुर्घटना भएको सुन खानीको व्यवस्थापन पक्षका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

“क्षेत्रीय सुरक्षा परिषद् र जिल्ला सुरक्षा परिषद्का अधिकारीहरु आउँदैछन्, उनीहरुसँगै हामी पनि स्थानीय समुदायसँग छलफलका लागि जादैछौँ, उनीहरुसँग छलफल गरेर हामीले सूचना सङ्कलन गर्नेछाैं,” उनले भने । दुर्घटनामा पीडित भएकाहरु अवैध मजदुर छन्, उनीहरु कोही पनि उनीहरुको आधिकारिक कर्मचारी नभएको बताइएको छ ।

घाना अफ्रिकी क्षेत्रमा दोस्रो धेरै सुन उत्पादन गर्ने देश हो । यस उद्योगमा देशका अन्तर्राष्ट्रिय खेलाडीहरु पनि संलग्न भएको पाइन्छ । सुन खानीमा धेरै दीर्घकालीन समस्याहरु रहेकाले यस्ता दुर्घटनाहरु बेला बेलामा भइरहने गरेको अधिकारीहरुले बताएका छन् ।

यसअघि गत अप्रिलमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसैगरी सन् २०१७ को जुलाईमा पश्चिमी घानामा भएको दुर्घटनामा कम्तीमा २२ जना मारिएका थिए । रासस/एएफपी