सकियो प्रदेशसभा सदस्यहरुको शपथग्रहण

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका थिए ।

देशका सातै प्रदेशका प्रदेशसभा सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएको छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका थिए ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो ।

प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएका थिए । सरावगीले बाँकी ९३ प्रदेशसभा सदस्यलाई शपथ खुवाए।

प्रदेश नम्बर २
२ नम्बर प्रदेशको शपथ ग्रहणमा केही सांसदहरुले आफूले जुन भाषामा शपथ लिएको हो त्यही भाषाको शपथपत्रमा हस्ताक्षर गरेका छन्। कतिपय सांसदहरुले नेपाली भाषाको शपथपत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपालीसहित मैथिली र भोजपुरी भाषाको शपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो ।

प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ खुवाइन् भने पौडेलले एक सय ९ जनालाई शपथ खुवाए ।

प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई आइतबार बिहान शपथ खुवाएका थिए त्यसपछि ६७ वर्षीय श्रेष्ठले ५८ प्रदेशसभा सदस्यलाई शपथ खुवाए । मनाङ ‘ख’बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि सांसदको शपथ लिन गएनन् ।

प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले ज्येष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाए । त्यसपछि पोखरेलले बुटवल उद्योग वाणिज्य सङ्घको हलमा ८६ सांसदलाई शपथ खुवाएका थिए । शपथ भएको हो।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाएपछि उनले प्रत्यक्ष र समानुपातिक सांसदलाई सपथ खुवाएका थिए ।
प्रदेश नम्बर ७

प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाएपछि प्रदेशसभा सदस्यले शाहबाट शपथ ग्रहण गरे । प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन्।

तस्वीर ः शेरबहादुर सिंह, धनगढी, रासस