चिनियाँ राजदूतले भेटिन् गृहमन्त्री

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षामन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

काठमडौं : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चिनका नवनियुक्त राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे । उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका छन् ।

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षामन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्ध थप उचाइमा पु¥याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपालले चीनविरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिन् । भेटमा राजदूत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिएकी छन् ।