विश्वमा यस्ता उदाहरणको कमी छैन, जहाँ पहिले हावा भनेर उडाइएका व्यवसायका योजना पछि सफल सावित भएका छन् । बरु पहिले अपत्यारिला लाग्ने यस्ता योजनाले सफलता पाएपछि तिनको चर्चा शिखरमा पुगेको हुन्छ । त्यसका लागि त्यो योजना सोच्नेले अथक परिश्रम भने गरेकै हुनुपर्छ । त्यस्तै एउटा योजनालाई टाइम म्यागेजिनले ‘टप टेन क्रेजी आइडिया’मा समावेश गरेको छ । यो कन्सेप्ट यति सफल भयो कि यसले ६ महिनामा यो विषयमा सोचेका व्यक्तिलाई करोडपति बनाइदियो ।
यो व्यवसायको योजना सुन्दा एक रति पनि पत्यार नलाग्न सक्छ । किनकि, यो ढुङ्गाको व्यापार हो । तर, विशेष ढुङ्गा । विशेष किन भने यसलाई नाम दिइएको छ– घरेलु ढुङ्गा । नामअनुसार यो ढुङ्गा कुनै घरमा बनाइएको भने होइन । नदी किनारको यो ढुङ्गालाई ‘पेट रक’ भनिएको छ । साधारण नदी किनारमा भेटिने ढुङ्गालाई घरपालुवा ढुङ्गा भनेर बेच्दा त्योसँगै एउटा निर्देशिका पुस्तिका पनि बेचिन्छ । त्यो निर्देशिकामा ढुङ्गालाई कहिले के खुवाउने, कहिले नुहाउने र कहाँ राख्नेबारे टिप्स लेखिएको छ ।
ढुङ्गा बेचेर करोडपति बन्ने योजना सन् १९७५ मा विज्ञापन एजेन्सीमा काम गर्ने ग्यारी डेलले सोचेका हुन् । उनलाई यस्तो विचार फुरेको अमेरिकाको क्यालिफोर्नियास्थित एक रेस्टुरेन्टमा साथीसँग बियर पिउँदा हो । खासमा ग्यारीसँग बस्दा साथीले बारम्बार आफ्नो घरपालुवा कुकुरको गुनासो गरिरहेका थिए । ग्यारीका साथीको सबैभन्दा ठूलो गुनासो थियो, ‘मेरो कुकुरले फोहोर गरेर हैरान पार्छ, मलाई त त्यसलाई नपालौँ जस्तो भइसकेको छ ।’
साथीको यस्तो कुरा सुनेपछि ग्यारीले रमाइलो गर्दै भने, ‘मेरो घरपालुवा जनावर त सबैभन्दा राम्रो छ । उसले कहिल्यै फोहोर गर्दैन, न कहिल्यै दुःख नै दिन्छ । किनकि, मेरो घरपालुवा जनावर एउटा ढुङ्गा हो ।’ उनले त्यहाँ रमाइलो गर्दै थपेका थिए, ‘झन् यसले कुनै खर्च गर्दैन ।’
त्यो साँझ रमाइलोमा यी सब कुरा भने पनि ग्यारीले भोलिपल्टबाट यसबारे गम्भीर भएर सोच्न थाले ।
र, ग्यारीले त्यही वर्षको क्रिसमसअगावै आफ्नो उत्पादन बजारमा पठाए । सन् १९७६ को फ्रेबुअरीमा उनले यसको उत्पादन बन्द गरिदिए र बजारमा पठाउन छाडिदिए । तर, त्यतिबेलासम्म उनका उत्पादनका ढुङ्गा चार डलरका हिसाबले १५ लाख प्रति बिक्री भइसकेका थिए । यसको अर्थ उनले यो विषयमा सोचेको ६ महिनामै ६० लाख डलर कमाए । अहिलेको रकमसँग तुलना गर्दा यो २ दशमलव १ करोड डलर हो ।
सन् २०१२ मा यो उत्पादन पुनः एकपटक बजारमा पठाइयो । त्यतिबेला एउटा ढुङ्गाको मूल्य २० डलर (दुई हजारभन्दा बढी नेपाली रुपैयाँ) पथ्र्यो ।
ग्यारीको यो विचारलाई टप टेन क्रेजी आइडियामा राख्दै टाइम म्यागेजिनले टिप्पणी गरेको थियो– यो १ प्रतिशत उत्पादन हो र ९९ प्रतिशत मार्केटिङ । किनकि, मानिसहरुले यसलाई खेलौना सोचेर किनेका थिए । त्यसमाथि प्रत्येक ढुङ्गासँग पाइने ३२ पेजको निर्देशिकालाई मानिसहरुले रमाइलो मानेर पढे । त्यो निर्देशिकामा कसरी घरपालुवा बनाइएको ढुङ्गालाई बोलाउने भन्ने विषयमा समेत लेखिएको थियो ।
सबैभन्दा अचम्म के भने यो ढुङ्गा राखिने बाकस थियो । कागजको त्यस्तो बाकसमा साना प्वाल बनाइएको थियो । किनकि, ढुङ्गाले सास फेर्छ भन्ने ग्यारीले रमाइलोसँग प्रस्तुत गर्दै त्यसलाई बेचेका थिए ।
निर्देशिका छाप्न, बाकस बनाउन र ढुङ्गा खोज्न लाग्ने लागत कटाएर ग्यारीले प्रत्येक बिक्रीबाट ७५ प्रतिशत नाफा कमाएका थिए । तर, पछि केही मानिसले ग्यारीलाई एउटा कन्सेप्टका कारणमात्र निकै फाइदा कमाएको भन्दै कानुनी कारबाही गर्ने चेतावनी पनि दिए । त्यसपछि ग्यारीले यो उत्पादन नै बन्द गरिदिए । एउटा अचम्मको विचारबाट करोडपति बनेका ग्यारीको मृत्यु सन् २०१५ मा भयो ।