श्रममन्त्री भन्छन्— कर्मयोगी व्यक्ति सम्मानित हुने दिन आउँदै छ

दायित्व अभियानले संयोजन गरेको छलफलमा खाली सिसी, टुटल, फुडमारियो, आइरनमेन वक्र्स, डोको, रिसाइक्लर्स, हर्वेदा, किङ्स कलेज, कौसी थिएटरलगायत रङ्गमञ्च, कृषि तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका तीन दर्जनभन्दाम बढी युवा उद्यमीको सहभागिता थियो ।

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमप्रति व्यक्ति तथा समाजको सोचाइमै परिवर्तन ल्याउने गरी सरकारले अभियान सुरु गर्न लागेको बताएका छन् । काम गर्ने व्यक्ति सम्मानित हुने खालको संस्कृतिलाई बढावा दिन नसकेसम्म श्रमको सम्मान हुने वातावरण नबन्ने उनको भनाइ छ ।

मन्त्रालयमा युवा उद्यमी तथा अभियन्ताहरुसँग शुक्रबार छलफलका क्रममा भने, ‘काम सानोठूलो हुँदैन, काम स्वयम्मै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ ।’ श्रमको सम्मान तथा रोजगारी सिर्जनाका विषयमा छलफल गर्न मन्त्री विष्टले युवा उद्यमी तथा अभियन्ताहरुलाई मन्त्रालयमा छलफलका लागि बोलाएका थिए । दायित्व अभियानले संयोजन गरेको छलफलमा खाली सिसी, टुटल, फुडमारियो, आइरनमेन वक्र्स, डोको, रिसाइक्लर्स, हर्वेदा, किङ्स कलेज, कौसी थिएटरलगायत रङ्गमञ्च, कृषि तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका तीन दर्जनभन्दाम बढी युवा उद्यमीको सहभागिता थियो ।

‘काम नगर्ने व्यक्ति, श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर काम गर्ने, जोखिम मोल्ने, श्रम गर्नेको जीवनमा परिवर्तन नआउने अवस्था बदल्न चाहन्छ,’ उनले भने । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउने सरकारको तयारी रहेको उनले बताए ।

यसका लागि मन्त्रालयले लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता, अनुभवी प्रतिष्ठित व्यक्तिहरुसँग छलफल तथा अन्तक्र्रिया गरिरहेको मन्त्री विष्टले जानकारी दिए । यति बेला सरकारले देशभित्रै सरकारी, निजी, सहकारी या अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्ने गरी काम गरिरहेको समेत मन्त्री विष्टले उल्लेख गरे ।

छलफलमा मन्त्री विष्टसँगै मन्त्रालयका सचिव महेशप्रसाद दहाल, सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहाललगायतको उपस्थिति थियो । छलफलमा सहभागी उद्यमीहरुले श्रमको सम्मानका लागि समाजको बुझाइमै परिवर्तन ल्याउने गरी सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम तथा न्यूनतम पारिश्रमिक लागू हुँदा पनि श्रमप्रतिको सम्मान बढ्ने विश्वास उद्यमीहरुको थियो ।