चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ ।

इलाम । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन् । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ ।

इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोही बेलादेखि यहाँ चिया खेती हुने गरेको छ ।

चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चिया खेतीबारे थाहा पाउने अवसर धेरैलाई मिल्ने भएपछि यहाँका किसानमा उत्साह थपिएको चिया किसान नरेन्द्रप्रसाद कोइरालाले जानकारी दिए ।

चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधक ल्याउन बाध्य बनेका चिया किसान नगरको यो योजनालाई स्वागत गरेका छन् । चिया विषय अध्यापन भए रोजगारीे समेत सिर्जना हुने चिया किसान प्रेम कट्टेलको भनाइ छ । उनले व्यावहारिक शिक्षा सानै उमेरबाट पाउने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताए ।

चिया विषय विद्यालय तहमा राखिँदा चियाप्रति लगाव बढाउन सक्ने र प्राङ्गारिक खेतीमा समेत सघाउन पुर्याउने प्राविधिकसमेत रहेका चिया किसान ज्योति अधिकारी बताउँछन् ।

चिया पाठ्यक्रमका लागि समिति गठन गरेर काम थालनी सुरु गरिएको छ । सम्भव भए अब आउने नयाँ शैक्षिक सत्रबाट नै चिया विषय पढाइ सुरु गर्ने सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए ।

चियाको इतिहास बोकेको इलाममा चियासम्बन्धी अध्ययन अनुसन्धान गर्ने थलो बनाउने बहस हुने गरेको भए पनि कार्यान्वय भने हुन सकेको छैन । यस विषयमा पठनपाठन सुरु भए यसबाट सूर्योदय नगरलाई मात्र नभई जिल्लाकै लागि फाइदा पुग्ने विज्ञको भनाइ छ । रासस