प्रतियोगितामा सर्वोत्कृष्ट ३ कथालाई क्रमशः १ लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
काठमाडौं । बाह्रखरी बुक्सले कथा प्रतियोगिता आयोजना गरेको छ । नेपालको वाङ्मय क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै यसको गुणात्मक प्रवर्धनमा सघाउने उद्देश्यले ‘डिसहोम १२खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । १२खरी बुक्सका तर्फबाट सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्तसम्बन्धी घोषणा गरिएको हो ।
आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट ३ कथालाई क्रमशः १ लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ वटा कथाको पुस्तक प्रकाशित गरिनेछ । संग्रहमा प्रकाशित हुने सबै प्रथम, द्वितीय र तृतीयबाहेक कथाकारलाई जनही ५ हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिने उक्त अवसरमा जानकारी गराइयो ।
‘‘यो प्रतियोगिताले एक प्रकारको ‘ट्यालेन्ट हन्ट’को काम गरोस् भन्ने हामी चाहन्छौं । यसले देशभर रहेका कथाकारलाई मूलधारमा प्रवेश गर्न सहज बनाउनुका साथै स्थापित कथाकारको सम्मान हुने हाम्रो विश्वास छ,’’ १२खरी बुक्सद्वारा जारी वक्तव्यमा भनिएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा फागुन २० गतेभित्र ‘डिसहोम १२खरी कथा’को इमेलमा पठाइसक्नुपर्ने जनाइएको छ । कथा प्रतियोगिताको नतिजा २०७६ वैशाख ६ गते शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिने बताइएको छ । सोही दिन ‘उत्कृष्ट कथा’को लोकार्पणसमेत हुनेछ । छानिएका कथाहरूको ई–बुक पनि प्रकाशित गरिने वक्तव्यमा जनाइएको छ ।
कथा साहित्यको एउटा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनको गति केही सुस्ताएको महसुस गर्न थालिएको जनाउँदै सो अवसरमा वितरित वक्तव्यमा भनिएको छ, ‘‘कथा लेखनमा नवप्रतिभाको प्रवेश अन्य विधाको तुलनामा निकै कम रहेको तथा स्थापित लेखकले नै पनि निरन्तरता नदिएको अवस्था छ । नेपालमा कथालेखनका ठूला प्रतिस्पर्धा हुन सकिरहेका छैनन् । कथाबारे चर्चारपरिचर्चा पनि उतिविधि हुन सकिरहेको छैन । प्रतिस्पर्धाले लेखकलाई प्रोत्साहन त हुन्छ नै, चर्चारपरिचर्चाले नेपाली कथाको महत्व, शक्ति र सामथ्र्य महसुस गराउनेछ । स्वच्छ तथा पारदर्शी प्रतिस्पर्धाले समग्र नेपाली कथासाहित्यको प्रवद्र्धनमा योगदान पुर्याउँछ ।’’
डिसहोम बाह्रखरी कथामा सहयोगी संस्थामा हिमाल स्टिल, आइएमएस ग्रुप, एनएमबी बैंक र फ्याक्ट्स नेपाल रहेका छन् ।
सहभागी हुन यस्तो छ नियम
कथा नेपाली भाषामा हुनुपर्नेछ । अन्य भाषामा लेखिएका कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवादको जिम्मेवारी स्वयं लेखकको हुनेछ ।
नेपाली भाषाको श्रीवृद्धिका लागि ‘बाह्रखरी’ प्रारम्भदेखि नै प्रतिबद्ध छ । लेखकहरू पनि भाषाको शुद्धताप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । कथामा भाषाको शुद्धताले पनि नतिजामा असर पार्नेछ ।
कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण गर्न पाइनेछैन ।
चयन भएका कथाको सम्पादन गर्ने अधिकार ‘१२खरी बुक्स’लाई हुनेछ ।
‘१२खरी कथा’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘१२खरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
प्रतियोगीले कथासँगै छोटो परिचय, सम्पर्क फोन नम्बर, इमेल ठेगाना र हालसालै खिचिएको फोटो पठाउनुपर्नेछ ।
प्रतियोगिताका लागि छानिएका कथाकारहरूलाई इमेल : [email protected], [email protected] मार्फत सम्पर्क गरिनेछ ।