जसले गुगलको जागिर छोडेर समोसा बेचिरहेका छन्

विश्वकै सबैभन्दा ठूला कम्पनीमध्येको एक सर्च जायन्ट गुगलमा कामको सपना देख्ने युवाहरुको कमी छैन । तर, के पनि सत्य हो भने केही यस्ता युवा हुन्छन्, जसको सपना गुगलभन्दा पनि निकै ठूलो हुन्छ । त्यस्तै एक भारतीय युवा छन्, जसले गुुगलको जागिर छाडेर समोसा बेच्न थाले । तर, यो समोसा सामान्य समोसा होइन । किनकि, फोब्र्स पत्रिकाको सूचीमा पनि यो समोसाले नाम दर्ज गरेको छ ।
गुगलको जागिर छोडेर समोसाबाट सम्पन्नता र सफलता दुवै हासिल गरेका यी युवा हुन्, मुनाफ कपाडिया । र, उनले आफ्नो व्यवसायलाई नाम दिएका छन्– बोहरी किचन । बोहरी मुनाफकै समुदायको नाम हो ।
गुगलमा राम्रो जागिर खाइरहेका मुनाफले यो कामको सुरुवातचाहिँ आमालाई व्यस्त राख्न गरेका थिए । मुनाफ बाहिर हुँदा आमाले धेरै समय टीभी हेरेर बिताएकोमा चिन्तित थिए । र, उनले आफ्नी आमाले मीठो पकाउने थाहा पाएकाले मटन समोसा, नरगिस कबाबलगायत परिकार बेच्ने योजना बनाए ।
त्यसपछि मुनाफले केही मािनसलाई ई–मेल गरे, फोन गरे र आफ्नो घरमा बोलाए । त्यहाँ आएका सबैले उनकी आमाको पाककलाको खुलेर प्रशंसा गरे अनि मुनाफका आमाछोराले बनाएका परिकार मीठो मानेर खाए । त्यसपछि मुनाफले ‘फुड सर्भिस’ सुरु गरे । आमासँगै सल्लाह गरेर उनले आफ्नो व्यवसायको नाम तय गरे– बोहरी किचन । त्यसपछि मुनाफकी आमाले पकाउने काम गरिन्, मुनाफले त्यसलाई मार्केटिङ गर्न थाले ।
मुनाफको यो कथा कति प्रसिद्ध भयो भने फोब्र्स म्यागेजिनले उनलाई ‘एचिभर्स अन्डर थर्टी’को सूचीमै राख्यो । यस्तो किन पनि भने उनले एक वर्षमा यही व्यवसायबाट ८० लाख रुपैयाँ ‘टर्न ओभर’ गरेका थिए । अबको वर्षचाहिँ यसलाई चार करोड ८० लाखभन्दा बढी बनाउने उनको लक्ष्य छ । र, उनी आफ्नो रेस्टुरेन्टलाई भारतका विभिन्न सहर र अमेरिकाको न्यूयोर्कमा पनि खोल्ने योजनामा छन् ।