प्रधानमन्त्री रोजगार कार्यक्रम : बेरोजगारलाई सय दिनबराबरको रोजगार ग्यारेन्टी

परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तिभरण वा अवकाशसम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ ।

काठमाडौं । आगामी चैतबाट बेरोजगारको सूची तयार गरी यही आर्थिक वर्षबाट रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुने भएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको शुभारम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार मन्त्रालयमा पत्रकार भेटघाटको आयोजना गरी कुनै पनि व्यक्ति बेरोजगार नरहोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सार्वजनिक गर्न लागिएको बताए । उनले बेरोजगार भएका व्यक्तिलाई सय दिनबराबरको रोजगारी सरकारले दिने र सो कार्यक्रममार्फत पनि समावेश नभएका व्यक्तिहरुलाई सोही दिनबराबर ज्यालाको ५० प्रतिशत रकम बैंकमार्फत भुक्तानी गर्ने तयारीमा रहेको जानकारी दिए ।

निर्वाह भत्ताको हकमा भने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तिभरण वा अवकाशसम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ ।

पाँच वर्षभित्र कुनै पनि युवा बाध्यताबाहेक वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सार्वजनिक गरिएको बताउँदै मन्त्री विष्टले श्रम गर्नेहरुको सम्मानका खातिर मन्त्रालय लागि पर्ने प्रतिबद्धता जनाएका छन् । नेपालमा श्रम गर्नेहरुको सम्मान हुन नसकेकै कारण धेरै युवाहरु विदेसिएको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिने मन्त्री विष्टको भनाइ छ ।

श्रम बजारमा शारीरिक मात्र नभई बौद्धिक श्रम पनि बिकाउने तयारीका साथ मन्त्रालय लागिपरको जनाइएको छ । उनले आईटी क्षेत्रको सम्भावना र चुनौतीको विषयमा अध्ययन गरिरहेकाले त्यस्ता व्यक्तिहरु र समूहलाई एकृकीत गरी लैजाने तयारी मन्त्रायको रहेको बताएका छन् ।