नेपाल प्रहरी प्रतिष्ठानमा मङ्गलबार १७८औ प्रहरी निरीक्षकको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीको माथिल्लो निकायमा हुने गरेको दलाली र राजतीतिक चलखेल बन्द गर्न निर्देशन दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रहरीभित्रको चाकडी र दलाली प्रथा अन्त्य गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रतिष्ठानमा मङ्गलबार १७८औ प्रहरी निरीक्षकको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीको माथिल्लो निकायमा हुने गरेको दलाली र राजतीतिक चलखेल बन्द गर्न निर्देशन दिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘माथिल्लो निकायका प्रहरी कर्मचारीले सरुवाबढुवामा राजनीतिक चलखेल बन्द गर्नुपर्यो । र आफूभन्दा मुनिकालाई अनुशासनमा राख्न सक्नुपर्यो, बाहिरबाट राजनीतिक चलखेल भयो भन्ने अनि आफंै त्यस्तो काममा लाग्ने ?’
प्रधानमन्त्री ओलीले प्रहरीको सरुवाबढुवालाई नियमसम्मत गर्नसमेत नेतृत्वलाई निर्देशन दिए । प्रहरी प्रतिष्ठान सार्ने विषयमा पूर्वप्रहरी अधिकारीलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले विभेद गर्दैन । राष्ट्रपतिलाई लक्षित गर्दै केही व्यक्तिले प्रहरीलाई हेपेको भन्दै लेख लेखे पनि प्रहरी प्रतिष्ठान पनौती सार्नु आवश्यक छ । त्यसैले त्यसमा कसैले रोक्दैमा रोकिँदैन ।’
राज्यको हरेक काम प्रहरीबिना सम्भव नरहेको भन्दै प्रहरी प्रशासनलाई बलियो र आधुनिक बनाउन सरकार लागिपरेको उनको भनाइ छ । कार्यक्रममा उनले सरकारलाई असफल बनाउने र सरकार ढाल्ने सपना कसैले नदेख्नसमेत आग्रह गरे ।
‘दुईतिहाइको सरकार हो, यो नौ महिनाको सरकार हैन, सरकार ढल्ने कुरै छैन, सरकारले आफ्नो उद्देश्य पूरा गरेरै छाड्छ,’ उनले भने । त्यसैगरी कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पनि सरकारलाई असफल बनाउने र देशमा दङ्गाफसाद गराउने शक्ति लागिपरेको आरोप लगाए । ‘देशलाई विखण्डनतर्फ धकेल्ने काम हुँदैछ, यो कदापि सफल हँुदैन,’ उनले भने ।
देशमा अपराध नियन्त्रण र शान्ति सुरक्षामा व्यापक सुधार आएको उनको भनाइ छ ।