वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले म्याद गुज्रिसकेकाहरुको नामावलीसमेत पठाइएको देखिएकाले यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्ने बताए ।
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि कलिङ भिसा आएकाहरुको विवरण वैदेशिक रोजगार विभागमा बुझाएको छ । सङ्घले व्यवसायीहरुसँग विवरण माग गरेर विभागमा बुझाएको तथ्याङ्कअनुसार ७ हजार ४ सय ४९ जनाको कलिङ भिसा रहेको जनाएको छ ।
विभागले कलिङ भिसा आएर मलेसिया जान नपाएकाहरुको नामावली पेस गर्न सूचना जारी गरेको थियो । विभागले माघ ७ गते सूचना जारी गरी १५ दिनभित्र विवरण बुझाउन भनिएको थियो । तर १५ दिनभित्र सम्पूर्ण विवरण समावेश नभएको भन्दै विभागले एक साताका लागि समय थप गरेको थियो । कलिङ भिसा बुझाउनेमा १ सय ८४ ओटा म्यानपावर कम्पनी छन् ।
यता वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले म्याद गुज्रिसकेकाहरुको नामावलीसमेत पठाइएको देखिएकाले यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्ने बताए ।
मलेसिया जाने कामदारमाथि आर्थिकभार थप गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गतेदेखि तत्कालका लागि मलेसियाको रोजगारी बन्द गरेका थिए । आर्थिकभार पार्ने विभिन्न पाँच कम्पनीलाई कारबाही नभएसम्म मलेसियाको रोजगारी नखुलाउने अडानमा श्रममन्त्री विष्ट रहेपछि लामो समयदेखि कलिङ भिसा पाएकाहरु समेत अलपत्र परेका थिए ।
केही साताअघि नेकपाका सभासद तथा श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बु विवादास्पद व्यवसायी रघु पुरीलाई लिएर मलेसिया पुगेका थिए । उनले मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनलाई समेत भेटेका थिए ।
लिम्बुमाथि विवादस्पद व्यवसायी पुरीलाई लिएर भेन्डर परिवर्तनको आरोप लागेपछि उनले श्रममन्त्री विष्टले पठाएर मलेसिया गएको र एक सातामा मलेसिया खुल्ने जानकारी दिएका थिए । तर, श्रममन्त्री विष्टले यो विषयमा केही जानकारी बाहिर ल्याएका छैनन् ।
लिम्बुले मलेसिया खुल्ने बताएको पनि एक साताभन्दा बढी हुँदासमेत मलेसियाको विषयमा श्रम मन्त्रालयले कुनै निर्णय गरेको छैन ।
श्रम मन्त्रालयका सचिव महेश दाहालले मलेसियाको रोजगारीका विषयमा निर्णय गर्न बाँकी रहेकाले अझै केही समय लाग्ने बताए ।