प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, फागुन १ लाई रोजगार दिवसका रुपमा मनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रमुख समस्या बेरोजगारी रहेकाले त्यसको सम्बोधनका लागि कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । धेरै वर्षको प्रयासपछि वर्तमान सरकारले रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको उनले स्पष्ट पारे ।

काठमाडौं । बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्यका साथ बुधबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको छ । संविधानको मौलिक हकमा समावेश गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रमुख समस्या बेरोजगारी रहेकाले त्यसको सम्बोधनका लागि कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । धेरै वर्षको प्रयासपछि वर्तमान सरकारले रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले फागुन १ लाई रोजगार दिवसका रुपमा मनाउने घोषणा गरेका छन् । सयौं बेरोजगारलाई रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई वार्षिक दिवसका रुपमा मनाउने बताए ।

नेपालले दैनिकरुपमा नयाँ नयाँ काम गरिरहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि एक नयाँ फड्को भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले नेपालको इतिहासमा पहिलो पटक सुरु गरिएको कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

श्रमको सम्मान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको श्रममन्त्री गोकर्ण विष्टको भनाइ छ । उनले काम नगरी बस्नेहरुलाई भत्ता दिनका लागि यो कार्यक्रम ल्याइएको नभई मरुभूमिलाई हरियाली बनाउने नेपाली युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले कार्यक्रम ल्याइएको बताए ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले रोजगारीको हक सुनिश्चित गरिएको दिनलाई महत्त्व दिनुपर्ने बताए । उनले युवा जनशक्तिलाई श्रम बजारमा लगाउन सकिएन भने देशको आर्थिक समृद्धि नहुने भएकाले सबैलाई श्रमको अवसर दिनुपर्ने धारणा राखे । बेरोजगारमा सूचीकृतहरुलाई सार्वजनिक विकास निर्माणमा लगाउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

श्रम मन्त्रालयले कुनै पनि परिवार रोजगारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले बेरोजगार युवाहरुको तथ्याङ्क सङ्कलन गर्न लागेको छ । मन्त्रालयले ७ सय ५३ ओटै स्थानीय तहमा रोजगार संयोजक राखेर बेरोजगारको सूची तयार पार्ने छ । बेरोजगारमा सूचीकृतहरुलाई सरकारले सञ्चालन गर्ने विभिन्न विकास निर्माणका आयोजनामा लगाउने र ती आयोजनाबाट पनि लाभान्वित नभएका परिवारका १ सदस्यलाई सय दिन बराबरको ज्यालाको ५० प्रतिशत रकम बेरोजगार भत्ताबापत दिइने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा हुँदै

प्रधानमन्त्री रोजगार कार्यक्रम : बेरोजगारलाई सय दिनबराबरको रोजगार ग्यारेन्टी