रेनोद्वारा गोउनको भुक्तानी रोक्का

बुधबारको बैठकले पूर्व कार्यकारी प्रमुख गोउनले रेनोको सेयरबाट पाउने लाखौँ युरो बराबरको रकम पनि पाउन अयोग्य घोषणा गरिएको छ । उनको करारमा उनी रेनोमा रहेको अवस्थामा उक्त सेयर पाउने उल्लेख थियो ।

पेरिस । फ्रान्सको बहुराष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनोले उसका पूर्व कार्यकारी प्रमुख कालिोस गोउनको भुक्तानी रोक्का गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्ना पूर्व प्रमुखको दिन बाँकी देखिएको दुई वर्षको भुक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर–प्रतिस्पर्धी धाराअन्तर्गत तलबको दुई वर्षबराबरको भुक्तानी रोक्ने निर्णय रेनोको सञ्चालक समितिको निर्णयबाट भएको बुधबार कम्पनीले जनाएको छ ।

बुधबारको बैठकले पूर्व कार्यकारी प्रमुख गोउनले रेनोको सेयरबाट पाउने लाखौँ युरो बराबरको रकम पनि पाउन अयोग्य घोषणा गरिएको छ । उनको करारमा उनी रेनोमा रहेको अवस्थामा उक्त सेयर पाउने उल्लेख थियो ।

जापानी निसान कम्पनीको समेत जिम्मेवारी सम्हालेका गोउनलाई गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा जापानबाट पक्राउ गरिएको थियो । उनले आफ्नाविरुद्ध लगाइएका आरोप असत्य भएका भन्दै खण्डन गर्दै आएका छन् ।

सरकारी वकिलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलबबापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ । वकिलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

गोउनले अदालतसमक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए । उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए ।

केही वर्षयता निसान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनोले पनि सेयर लगानी गरेको छ । हाल निसानमा रेनोको ४३ प्रतिशत हिस्सा छ भने रेनोमा निसानको १५ प्रतिशत सेयर छ ।

पक्राउसँगै गोउनले रेनो कम्पनीबाट राजीनामा गरेका छन् भने निसानले उनलाई आर्थिक हिनामिना गरेको आरोपमा हटाएको छ । (रासस/एएफपी)