सङ्घीय संसदको प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार सिंहदरबारमा आयोजित छलफलमा बोल्दै राजदूत ढकालले भिजिट भिसालाई वर्किङ भिसाको मान्यता दिनका लागि पहल गर्नुपर्ने धारणा राखेका छन् । धेरै नेपालीहरु भिजिट भिसामा यूएई पुग्ने गरेको र काम नपाएपछि अलपत्र पर्ने गरेको उनको भनाइ छ ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले घरेलु कामदारका लागि खुला नगर्दा चोरबाटोबाट गएका धेरै नेपाली महिलाहरु अलपत्र परेको बताएका छन् । उनले भारत हुँदै धेरै नेपाली महिलाहरु घरेलु कामदारका लागि यूएई जाने गरेको र तिनीहरुलाई उद्धारमा समस्या हुने बताए ।
सङ्घीय संसदको प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार सिंहदरबारमा आयोजित छलफलमा बोल्दै राजदूत ढकालले भिजिट भिसालाई वर्किङ भिसाको मान्यता दिनका लागि पहल गर्नुपर्ने धारणा राखेका छन् । धेरै नेपालीहरु भिजिट भिसामा यूएई पुग्ने गरेको र काम नपाएपछि अलपत्र पर्ने गरेको उनको भनाइ छ ।
त्यहाँको हावापानीसँग घुलमिल हुन नसकेकै कारण धेरै नेपालीको ज्यान जाने गरेको बताए । यूएईसँग हुन लागेको नयाँ श्रम समझादारीमा फ्री भिसा, फ्री टिकटलाई कार्यान्वयनमा ल्याउने अपेक्षा आफ्नो रहेको र त्यही विषयमा लबिङ गर्ने जानकारी दिए ।
राजदूत ढकालले यूएईसँग नेपालले कृषिजन्य पदार्थको व्यापार गर्न सक्ने भन्दै त्यसतर्फ पनि समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । हाल यूएईले कृषिजन्य वस्तुहरुको आयात गर्दै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्वर दाहालले श्रम सम्झौता नभएका देशमा घरेलु कामदारमा महिला पठाउन रोक लगाइएको बताए । उनले नयाँ सम्झौता नभएसम्म घरेलु कामदार पठाउन नसकिने बताउँदै मानव तस्करी रोक्न सरकार लागि परेको बताए ।
भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले भारत हुँदै धेरै नेपालीहरु गैरकानुनी रुपमा विभिन्न देशमा जाने गरेको बताउँदै त्यसलाई कडाइ गर्नुपर्ने बताएका छन् । उनले मानव तस्करी रोक्नका लागि ट्रान्जिट बाहेकका अन्य नेपालीलाई भारतीय भूमि हुँदै जानेहरुले अनिवार्य रुपमा दूतावासबाट स्वीकृति लिएर मात्र जानुपर्ने प्रावधान ल्याउन सरकारसँग अनुरोध गरेका छन् ।