एयरबसले ए३८० विमानको उत्पादन बन्द गर्ने

आफ्ना विमानको प्रमुख क्रेता दुबईको एयरलाइन कम्पनी इमिरेट्सले ठूला जेट विमानको कटौती गरेपछि एयरबसले आगामी २०२१ बाट सो ए३८० विमानको निर्माण स्थगित गर्ने निर्णय गरेको हो ।

एजेन्सी । कुनै समय व्यावसायिक हवाई क्षेत्रमा क्रान्ति ल्याउने बाचा गरेको युरोपेली विमान निर्माण कम्पनी एयरबसले आफ्नो ए३८० विमानको उत्पादन बन्द गर्ने निर्णय गरेको छ ।

आफ्ना विमानको प्रमुख क्रेता दुबईको एयरलाइन कम्पनी इमिरेट्सले ठूला जेट विमानको कटौती गरेपछि एयरबसले आगामी २०२१ बाट सो ए३८० विमानको निर्माण स्थगित गर्ने निर्णय गरेको हो ।

एयरबसका सीईओ टम इन्डर्सले वक्तव्यमा भनेका छन्, ‘हामीसँग ए३८० विमानको पर्याप्त माग छैन, त्यसैले यसको उत्पादनलाई दिगो राख्ने हामीसँग आधार पनि छैन । हालका वर्षहरुमा हाम्रो तमाम बिक्री प्रयासका बावजुद यस्तो भैरहेको छ ।’

ए३८० विश्वकै ठूलो जेट विमान हो, जसले १४ वर्षअघि पहिलोपटक सफलताको शिखर चुमेको थियो । निर्माणकर्ता कम्पनी एयरबसले यात्रीहरुका लागि अतिरिक्त ठूला विमानको आवश्यकता रहेको महसुस गर्दै आएपछि प्रमुख विमानस्थल हबहरुले कम्पनीको अपेक्षा अनुरुप काम गर्न सकिरहेका छैनन् ।

हालसम्म कम्पनीले २३४ ओटा सुपरजम्बो विमान डेलिभर गरिसकेको छ । त्यस्तै पहिलो पटक डबल डेकर विमान बजारमा ल्याएको समयदेखि उसले तीन सयको हाराहारीमा विमान बिक्री गर्ने अनुमान गरेको थियो । तर, कम्पनीले आफ्नो रुची हलुका तथा इन्धनमैत्री यात्रीवाहक विमानमा देखाएपछि उसको सो योजना कमजोर भएको थियो ।