विशेषगरी मलेसियाको रोजगारी बन्द भएसँगै यूएई र कतारमा जानेको संख्या बढेको हो ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय विभिन्न देशहरुमा श्रम समझदारीका लागि प्रक्रिया अघि बढाएको छ । श्रम सम्झौता भइसकेका देशमा पुनः श्रम समझदारी गर्ने र नभएका देशमा सम्झौता गर्ने तयारीका साथ मन्त्रालयले काम अघि बढाएको छ ।
पाँच महिनाअघि मलेसियासँग श्रम समझदारी गरेको नेपालले हाल यूएई र कतारसँग श्रम समझदारीका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले केही महिनाभित्रमै दुबै देशमा श्रम समझदारी भइसक्ने जानकारी दिए । उनले श्रम सम्झौता नभएका मुलुकमा नेपाली कामदार नपठाउने र पुराना सम्झौता भएका देशमा नयाँ समझदारी गर्ने मन्त्रालयको नीतिअनुसार काम अघि बढाइरहेको बताए ।
केही महिनाअघि मात्र यूएईमा गएर श्रम मन्त्रालयका प्रतिनिधिहरुले पहिलो चरणको वार्ता गरेका छन् । मन्त्रालयले नयाँ श्रम समझदारीका लागि ड्राफ्टसमेत पठाइसकेको छ । नयाँ पठाएको ड्राफ्टमा कामदारको सुरक्षादेखि उजुरी दिन नेपाल भाषा प्रयोग गर्न पाउने व्यवस्था गर्नसमेत प्रस्ताव गरिएको सहसचिव घिमिरेको भनाइ छ । हाल यूएईमा हिन्दी र बङ्गाली भाषामा मात्र उजुरी र गुनासो दिन मिल्छ ।
नेपालले राखेको प्रस्तावमा यूएई सरकार सकरात्मक देखिएको बताइएको छ । यस्तै शून्य लागतमा कामदार लैजान पनि प्रस्ताव गरिएको छ । ‘कामदारलाई कुनै आर्थिक भार नपर्ने गरी लैजान हामीले प्रस्ताव गरेका छौं,’ सहसचिव घिमिरेले भने, ‘उनीहरु सकरात्मक भएकाले केही महिनाभित्रै समझदारी गरिसक्छौं ।’
यस्तै कतारसँग पनि श्रम समझदारीको लागि तयारी अन्तिम चरणमा पुगेको उनले बताए । कतारमा पनि श्रम समझदारीको लागि ड्राफ्ट पठाइसकेको उनले जानकारी दिए । कतारमा पनि मलेसिया र यूएईकै मोडलमै नयाँ समझदारी गर्न लागिएको उनले बताए । पछिल्लो समय नेपालीहरु कतारमा काम गर्न जानेको संख्या बढिरहेको छ । विशेषगरी मलेसियाको रोजगारी बन्द भएसँगै यूएई र कतारमा जानेको संख्या बढेको हो ।