कृषिक्षेत्रमा देखिएका समस्या र किसानका पक्षमा कलम चलाउनुसः कृषिमन्त्री चक्रपाणी खनाल

कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिदै मन्त्री खनालले कृषि क्षेत्रमा समस्या धेरै रहेको र महत्व कम दिएकाले पनि अपेक्षित रुपमा कृषि क्षेत्रको विकास हुन नसकेको स्वीकारे ।

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा देखिएका समस्या र वास्तविक किसानको पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।

कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिदै मन्त्री खनालले कृषि क्षेत्रमा समस्या धेरै रहेको र महत्व कम दिएकाले पनि अपेक्षित रुपमा कृषि क्षेत्रको विकास हुन नसकेको स्वीकारे ।

अहिले कृषिक्षेत्रमा कार्यक्रमहरुबाट वास्तविक किसानले भन्दा विचौलियाहरुले बढि लाभ लिईरहेको उनको भनाइ थियो ।मन्त्री खनालले ओझेलमा परेको क्षेत्रको रुपमा कृषि क्षेत्र देखिए पनि यसको विकास र प्रवद्धनबाट सरकार पछि हट्न नसक्ने बताए ।

त्यस्तै, राष्ट्रिय किसान समुह महासंघका अध्यक्ष उद्धव अधिकारीले साना किसानका सवाल र समस्या राष्ट्रिय स्तरसम्म पु¥याउन जोनाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले आम किसानको चेतना अभिवृद्धि, भोगेका समस्या र सरकारले किसानका पक्षमा गरेका व्यवस्था कार्यान्वयनमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

जोनाका निवर्तमान अध्यक्ष राजेश बर्माले संगठनात्मक हित र कृषि पत्रकारहरुको क्षमता अभिवृद्धिमा जाेड दिनुपर्ने बताए ।

यसअघि नै गोविन्द शर्माको नेतृत्वमा जोनाको १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको थियो । कृषि क्षेत्रमा स्वतन्त्र रुपले कलम चलाउने पत्रकारहरुको छाता संगठनको रुपमा जोना रहेको छ ।

यसैबीच नयाँ कार्यसमितिले आगामी दिनमा संगठनलाई कसरी अघि बढाउने, कृषि क्षेत्रमा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिम, प्रशिक्षण र भावी कार्ययोजना सहितका महत्वपूर्ण निर्णय समेत गरेको छ ।