मौरिसससँग श्रम सम्झौता गर्न नेपालले पठायो ड्राफ्ट

धेरै पहिलेदेखि मौरिससले नेपाली कामदार लैजान चाहिरहेको थियो, श्रम सम्झौतापछि खाडी मुलुकबाहेक नयाँ गन्तव्यका रुपमा यो विकास हुने विश्वास रहेको उनले बताए ।

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौरिसससँग श्रम सम्झौताका लागि प्रक्रिया अगाडि बढाएको छ ।

नेपाली कामदारका लागि नयाँ गन्तव्यका रुपमा स्थापित भइरहेको मौरिसससँग श्रम सम्झौताका लागि ड्राफ्ट पठाइसकेको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

‘नेपाली कामदार लैजान इच्छा देखाएकै कारण मौरिसससँग श्रम सम्झौताका लागि ड्राफ्ट पठाइएको हो’, सहसचिव घिमिरेले भने ।

धेरै पहिलेदेखि मौरिससले नेपाली कामदार लैजान चाहिरहेको थियो, श्रम सम्झौतापछि खाडी मुलुकबाहेक नयाँ गन्तव्यका रुपमा यो विकास हुने विश्वास रहेको उनले बताए ।

मौरिससले जवाफ पठाउनेबित्तिकै श्रम सम्झौताका लागि मिति तय गरिने जानकारी घिमिरेले दिए । कुन कुन क्षेत्रमा कामदार लैजाने भन्ने विषयमा श्रम सम्झौतापछि मात्र टुङ्गो लाग्ने बताउँदै विषेशगरी सेवा क्षेत्रमा कामदार लैजाने इच्छा देखाएको उनले बताए ।

मौरिससमा विषेशगरी भारतीय मूलका नागरिकको बसोबास छ । अफ्रिकाको नजिक र हिन्दमहासगरभित्र पर्ने यो देश खाडी मुलुकभन्दा दक्षिण भागमा पर्दछ । विषेशगरी पर्यटनमार्फत् आत्मनिर्भर रहेको सो मुलुक वित्तीय सेवा, यातायात, सूचना तथा सञ्चार क्षेत्रमा पनि अघि छ ।

सामुद्रिक टापुमा रहेका कारण सो मुलुकमा वार्षिकरुपमा धेरै पर्यटक जाने गरेका छन् ।
मौरिससमा अहिले पनि केही नेपालीहरु काम गर्न गइरहेका छन् । राम्रो सेवा तथा सुविधा हुने भएकाले पछिल्लो समय धेरै नेपालीहरु त्यस देशमा जान इच्छा देखाइरहेका छन् ।

श्रम सम्झौता नभएका देशमा नेपाली कामदार नपठाउने मन्त्रालयको निर्णयपछि विभिन्न देशमा सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ । यस्तै पुराना श्रम सम्झौता भएका देशहरुमा श्रम समझदारी गरी अघि बढिरहेको छ ।