लोकतन्त्रकलीको छावा जन्मियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले बिहीबार छावा जन्माएको छ।

बिहान ४:१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरूषोत्तम पाण्डेले जानकारी दिए। उनका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् ।

गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन्। हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ। यससँगै निकुञ्जमा चार भाले र एक पोथी छावा भएका छन्।

यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा, मङ्सिर ३ गते तमरकलीबाट भाले छावा र पुस १४ गते कर्णालीकलीबाट भाले छावा जन्मिएका थिए।

अझै तीन गर्भिणी हात्तीले अर्को बर्ष बच्चा जन्माउने पाण्डेले जानकारी दिए।

हाल निकुञ्जमा ५७ हात्ती छन्। गर्भिणी भएपछि २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ। कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन्।

निकुञ्जको हात्ती प्रजनन एवम् तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवम् पोष्टमा हात्ती राखिँदै आइएको छ।

विसं २०४२ मा भारत सरकारले दिएको १६ हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २९ हात्तीका बच्चा जन्मिसकेका छन्।