पेरुको सुनखानीमा पहिरो जाँदा धेरैको मृत्यु

पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ । 

लीमा । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ ।

ला रिपब्लीका अखबारले खानीमा कार्यरत सात जनालाई बगाएको जनाएको छ । अरु केही व्यक्ति हिलोमा पुरिएका र तिनीहरुको खोजी भइरहेको पनि अखबारले जनाएको छ । उक्त सुनखानी निकै दुर्गम इलाकामा रहेकाले खोजी र उद्धारमा कठिनाई भइरहेको बताइएको छ ।

पेरुमा दर्ता नगरिएका सुनखानी धेरै रहेको विश्वास गरिन्छ । यहाँ मजदूरहरुको अवस्था समेत अत्यन्त नाजुक रहने गरेको छ । यसै महिनाको सुरुमा पनि अवैध खानीमा कार्यरत चार जना मजदुरको मृत्यु भएको थियो । गत साता पनि ठूलो वर्षापछि आएको पहिरोमा पुरिएर दुई जना मजदुरको ज्यान गएको थियो ।

पेरुका हरेक सरकारले गैरकानुनी यस्ता खानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि ठोस कार्य हुन सकेको छैन । यसै साता राष्ट्रपति मार्टिन भिजकार्राले अमेजोन क्षेत्रमा सञ्चालित अबैध खानीलाई नियमन गर्ने अभियान सुरु गरेका छन् ।

पेरु विश्वकै छैटौं ठूलो सुन उत्पादक राष्ट्र हो । रासस/एएफपी