काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाकी विदेशमन्त्री करिन कनिसलले नेपालको आर्थिक उन्नयनका निम्ति जलविद्युत् उत्पादन नै प्रमुख माध्यम बन्नसक्ने बताएकी छन्।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रवृत्ति’ विषयक कार्यक्रममा उनले ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रको विकासबाट आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सहयोगी हुने बताए।
समसामयिक विश्वमा प्राकृतिक स्रोत र साधनका निम्ति राष्ट्र–राष्ट्रबीच एकता र द्वन्द्व हुने गरेको यथार्थ सुनाउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धको पेचिलो विषय पनि तिनै खनिज पदार्थ भएका बताए।
पश्चिम एशिया, युक्रेन र रसियामात्र होइन पछिल्लो समयमा उत्पन्न भेनेज्वेला मामिला पनि प्राकृतिक स्रोतमा केन्द्रित रहेको उनको विश्लेषण थियो जलवायु परिवर्तन र त्यसका असर, हिन्दू कुश क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले कार्यान्वयनका निम्ति प्रस्तुत गरेका विषयवस्तुलाई बेवास्ता गर्न नहुनेमा उनको जोड थियो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले नेपाल–अष्ट्रिया सम्बन्धका विविध आयामबारे चर्चा गरेको थियो भने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक इन्द्र अधिकारीले मन्त्री कनिसलको बहुआयामिक व्यक्तित्वको परिचर्चा गरेका थिए।