पोखरा । पोखरामा शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनामा ललितपुर महानगरपालिका–७ बागडोलका २९ वर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ।
सोलो पाइलट मैनाली पोखरा–१८ साराङ्कोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
गम्भीर घाइते भएका मैनालीलाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौँ ग्राण्डी अस्पतालमा लगिएको पुरीले जानकारी दिए।