नेपालले कामदार पठाउन रोक लगाएपछि विकल्पमा मलेसियाले भारत रोजेको हो । भारतबाट केही क्षेत्रमा मात्र स्पेसल भिसामा कामदार मलेसिया जाने गरेका थिए । भारतलाई मलेसियाले कामदार आपूर्ति गर्ने स्रोत मुलुकमा सूचीकृत गरेको थिएन ।
काठमाडौं । नेपालले कामदार पठाउन छाडेपछि मलेसियाले भारत सरकारसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । नेपालले १० महिनादेखि मलेसियामा कामदार पठाउन रोक लगाएको छ ।
नेपालले कामदार पठाउन रोक लगाएपछि विकल्पमा मलेसियाले भारत रोजेको हो । भारतबाट केही क्षेत्रमा मात्र स्पेसल भिसामा कामदार मलेसिया जाने गरेका थिए । भारतलाई मलेसियाले कामदार आपूर्ति गर्ने स्रोत मुलुकमा सूचीकृत गरेको थिएन ।
नेपालसँग श्रम सम्झौता गरेको ५ महिना बितिसक्दासमेत कामदार पठाउन ढिलाइ गरेपछि मलेसियाले विभिन्न मुलुकबाट कामदार लैजाने तयारी गरेको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन् ।
मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानले भारत, इन्डोनेसियालगायत अन्य मुलुकसँग श्रम श्रम्झौताका लागि वार्ता भइरहेको जानकारी दिएका छन् । मन्त्री कुलासेगरानले बङ्गलादेशबाहेक अन्य देशका कामदारलाई मलेसियामा ल्याउन कुनै अवरोध नभएको बताएका छन् । कुलासेगरानले भने, ‘बङ्गालदेशमा कामदार राख्ने प्रणालीमाथि छानबिन पेन्डिङमा रहेका कारण त्यहाँका कामदारहरुको भर्ती स्थगन गरिएको छ ।’ मलेसियाबाट सञ्चालित फ्री मलेसिया टुडेका अनुसार विदेशी कामदारहरुको व्यवस्थापन तथा नीतिलाई चुस्तदुरुस्त बनाउन मन्त्रिपरिषद्ले गठन गरेको स्वतन्त्र समितिले आफ्नो प्रतिवेदन तयार गरिसकेको छ । विदेशी कामदारहरुको सर्वपक्षीय इन्टेकसम्बन्धी सरकारलाई सुझाव दिन उक्त समिति गत वर्षको २९ अगस्टमा गठन गरिएको थियो ।
नेपालले मलेसिया जाने कामदारमाथि आर्थिक भार पारेको भन्दै विभिन्न पाँच संस्थालाई कारबाही गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेदेखि कामदार पठाउन रोक लगाएको छ । श्रम मन्त्रालयले ती संस्थाहरुलाई दायर गरेको मुद्दा विचाराधीन छ । तर नेपाल र मलेसियाबीच भएको दुईपक्षीय श्रम समझदारीमा भने ती संस्था यथावत् रहने र कामदारमार्फत उठाउँदै आएको रकम रोजगारदाता कम्पनीले बेहोर्ने उल्लेख गरिएको छ ।
कामदार आपूर्तिकर्ताले नै थप आर्थिक भार बेहोर्ने सम्झौतामा हस्ताक्षर गरेका श्रममन्त्री गोकर्ण विष्टले अहिलेसम्म के कारणले मलेसिया खुलाउन चाहेका छैनन् भन्ने यकिन हुन सकेको छैन ।
श्रम समझदारी लगत्तै बसेको जोइन्ट वर्किङ ग्रुपले कलिङ भिसा पाएका कामदारलाई तत्काल मलेसिया पठाउन मन्त्रालयलाई अनुरोध गरिसकेको छ । तर लामो समयसम्म कलिङ भिसा पाएकाहरु पनि मलेसिया जान नपाएपछि उनीहरुको करोडौं रुपैयाँ जोखिममा परेको छ । केही साताअघि मात्र श्रम विभागले कलिङ भिसाको तथ्याङ्क माग गरे पनि रोजगार खुलाउने वा नखुलाउने विषयमा भने कुनै जवाफ आएको छैन । वैदेशिक रोजगार व्यवसायी सङ्घले बुझाएको तथ्याङ्कअनुसार ७ हजार ४ सय ४९ जनाको कलिङ भिसा आएको छ ।