काश्मीरका केही भागमा प्रतिबन्ध

श्रीनगर क्षेत्रमा रहेका पाँच ओटा पुलिस स्टेसनमा धारा १४४ सीआरपीसीअन्तर्गत प्रतिबन्ध लागू गरिएको प्रहरीले बताएका छन् ।

एजेन्सी । पृथक्तावादीहरुले बन्द आह्वान गरेपछि काश्मीरको प्रशासनले सहरका केही भागहरुमा प्रतिबन्ध लागू गरेको छ । श्रीनगर क्षेत्रमा रहेका पाँच ओटा पुलिस स्टेसनमा धारा १४४ सीआरपीसीअन्तर्गत प्रतिबन्ध लागू गरिएको प्रहरीले बताएका छन् ।

नोहट्टा, खान्यार, राइनावरी, एमआर गन्ज र साफाकाडालमा प्रहरीले जाँच तीव्र पारेको छ । पृथक्तावादीको अन्दोलनमा नियमकानुन लागू गर्न पूर्वतयारी अपनाएको अधिकारीहरुको भनाइ छ । संयुक्त प्रतिरोधी नेतृत्व जेआरएलको बेनरमुनि पृथक्तावादीहरुले शनिबार आफूहरुमाथि सरकारले गरेको कारबाहीको विरोधमा आइतबारका लागि बन्द आन्दोलन आह्वान गरेका थिए । बन्द आन्दोलनले अहिले काश्मीर उपत्यकाको जनजीवनमा निकै ठूलो प्रभाव पारिरहेको छ । श्रीनगरमा अहिले पसल, इन्धन स्टेसन र अन्य व्यापारिक निकाय बन्द रहेको अधिकारीहरुले बताएका छन् । सहरका केही भागमा सार्वजनिक यातायातका साधन बन्द भएका छन् ।

अधिकारीहरुका अनुसार उपत्यकाभित्रका अन्य जिल्लाका मुख्यालयमा पनि बन्दको खबर आइरहेका छन् ।