प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्याे : सभापति देउवा

रसुवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारको हस्तक्षेप गरेको बताए । नयाँ शक्ति नेपाल रसुवाको काँग्रेसमा एकता कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाई वर्तमान सरकारले हस्तक्षेप गरेको बताए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाईमाथि पञ्चायतको जस्तो व्यवहार भएको भन्दै उनले यसको विरुद्धमा उत्रन सबैलाई आग्रह गरे । चिकित्सा शिक्षा विद्येयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उनको भनाई छ ।

रसुवाबाट शुरु भएको काँग्रेस प्रवेशको अभियानले देशव्यापी रुपमा काँग्रेसको माहोल छाएको भन्दै उनले अन्य पार्टीबाट काँग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताए । काँग्रेसलाई खुला हृदयको पार्टी निर्माण गर्न चाहेको उनको भनाई थियो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्राकृतिक सौन्दर्य भएको जिल्लाको विकासमा पार्टी एकताले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले काँग्रेसका कारण मुलुकमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताउँदै मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप बताए । “समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पुरा हुन सक्दैन,”– नेता पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले वाइडवडी काण्ड, एनसेल काण्ड, सुनकाण्ड, निर्मला पन्त काण्डमा सरकार मौन बसेको उल्लेख गरे । सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको उनको भनाई थियो । पार्टीका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकता अभियानलाई मुलुकको सबै जिल्लामा लैजार्नुपर्ने बताए । आउँदो निर्वाचनमा नेपाली काँग्रेस एक नम्बर पार्टी बन्ने उनको भनाई थियो ।

महामन्त्री डा कोइरालाले पार्टीभित्र देखिएको गुठ उपगुठ अन्त्य गरी एकजुट भएर अगाडि बढाउनुपर्नेमा जोड दिए । “काँग्रेस अहिलेपनि बलियो छ, आगामी दिनमा पनि बलियो रहन्छ,”–उनले भने । काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले रसुवामा भएको काँग्रेस नयाँ शक्ति एकताले देशभर सन्देश दिएको बताए । “स्थिर सरकारले जनताको विकास चाहँदैन,”–उनले भने । डा महतले काँग्रेसले गरेका कामलाई वर्तमान सरकारले प्रचारप्रसार गरिरहेको बताए ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकलाई प्रजातान्त्रिक बाटोमा लैजान काँग्रेसको ठूलो योगदान रहेको उल्लेख गरे । “दुई तिहाई बहुमत पाएको सरकारले एक वर्षको समयमा मुलुकको विकासमा केही काम गर्न सकेन,”–उनले भने । काँग्रेसले पार्टीलाई नविन ढङ्गले अगाडि बढाउनु जरुरी रहेको उनको भनाई छ । प्रवक्ता शर्माले सरकार अपराधी खोज्नुभन्दा अपराधी जन्माउन लागेको आरोप लगाए । उनले काँग्रेसले आगामी निर्वाचन जित्ने गरी संगठन विस्तार गर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसका कारण मुलुक अहिले यो अवस्थामा आएको बताउँदै काँग्रेस निर्वाचन हारेर भएपनि निर्वाचन सम्पन्न गरेको बताए । “सरकार गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरेर बरालिरहेको छ,”–उनले भने ।सरकारले प्रजातान्त्रिक चरित्र गुमाएको उनको भनाई छ । नेता थापाले सरकारलाई विकासको काममा काँग्रेसले नरोकेको बताए । “प्रधानमन्त्रीको सपनामा पानीजहाज, हवाईजहाज र रेल छ, जनता छैनन्,”–उनले भने । पार्टी एकताले रसुवाको तागतमात्र होइन सिंगो मुलुकको तागत बढेको नेता थापाको भनाई छ ।

नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले जनताका बीचमा गरेको बाचाअनुसार रसुवाको विकासमा काम गरीरहेको स्पष्ट पारे । सांसद आचार्यले रसुवाको २७ वडामध्ये लाङटाङमा मात्र बाटो नपुगेको बताउँदै उक्त वडामा पनि चाँडो बाटो पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।