विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर वार्ता यही फेब्रुअरी २७ र २८ तारिखमा हुँदैछ ।
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर वार्ता यही फेब्रुअरी २७ र २८ तारिखमा हुँदैछ ।
यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्त्वपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकहरुले अनुमान गरेका छन् ।
शिखर बैठकमा भाग लिन उत्तर कोरियाबाट करिब ४ हजार किलोमिटर रेलयात्रा गरी नेता कीम भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ आइपुगेका थिए । उनलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोई ल्याइएको थियो । रासस/एएफपी