भारत पाकिस्तान युद्धमा इन्फोवारको बिगबिगी

संकट थप बढ्न सक्ने यस्तो चिन्ताजनक अवस्थामा मिडियाको यस्तो चरित्रमाथि अहिले सामाजिक सञ्जालहरुमा व्यापाक असन्तुष्टि देखापरिरहेको छ । सामाजिक सञ्जालमा युद्धको सम्भावनामाथि थप तेल नथप्न आग्रह गर्दै मानिसहरुले टिप्पणी गरिरहेका छन् । आम नागरिकको अलावा अन्तराष्ट्रिय जगत्का ठूला पत्रकारले पनि मिडियाको यो चरित्रप्रति आक्रोश र चिन्ता जनाएका छन् ।

काठमाडौं । पुल्वामा आतंकी हमलाको प्रतिक्रियास्वरुप हिजोबाट उत्पन्न भएको भारत र पाकिस्तानबीचको शृंखलाबद्ध हवाई हमलाका विषयमा अहिले इन्फोवार सूचनायुद्ध चलेको अवस्था देखिएको अन्तर्राष्ट्रिय मिडियामा टिप्पणीहरु आएका छन् ।

भारत र पाकिस्तानी मिडियाहरुले दुई किसिममा विरोधाभाषपूर्ण समचार प्रवाह गर्न सुरु गरेपछि यी हमला र घटनाहरुको स्वतन्त्रपूर्ण ढंगले पुष्टि गर्न अन्तर्राष्ट्रिय जगत् तथा सर्वसाधारणलाई हम्मेहम्मे परिरहेको छ ।

भारतले पाकिस्तानी क्षेत्रभित्र रहेको आतंकी ठेगानाहरुमा हमला गरेर तीन सय आतंकवादीलाई सखाप बनाएको समाचार उसको मिडियाले प्रकाशित गरिरहँदा पाकिस्तानी मिडियाले भने विभिन्न सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै ती समाचारलाई गलत ठहर्याइरहेका छन् । यति मात्र होइन, पाकिस्तानले पनि भारतीय क्षेत्रभित्र प्रवेश गरी त्यहाँ हमला गरेको समचार प्रकाशित गरिरहँदा भारतले उसको हवाई जेटलाई खसालेको दाबी गरेको छ, जसलाई पाकिस्तानले निरन्तर अस्वीकार गरिरहेको छ ।

पाकिस्तानले भारतको अर्को लडाकू विमानलाई खसालेर उसको विमान चालकलाई गिरफ्तार गरेको खबर पाकिस्तानी मिडियामा फैलिरहँदा भारतले आफ्ना सबै चालकहरु आफ्नो सम्पर्कभित्र रहेको खबर दिएको छ । यसैबीच भर्खरै पाकिस्तानले एउटा भिडियो सार्वजनिक गरेको छ, जसमा उसले आफूले गिरफ्तार दाबी गरेको एक व्याक्तिलाई भारतीय विमान चालक बताएको छ । तर भारतले हालसम्म त्यसको कुनै जवाफ दिएको छैन र अन्तराष्ट्रिय मिडिया पनि यसलाई पुष्टि गर्न असामन्जस्य अवस्थामा पुगेको छ ।

संकट थप बढ्न सक्ने यस्तो चिन्ताजनक अवस्थामा मिडियाको यस्तो चरित्रमाथि अहिले सामाजिक सञ्जालहरुमा व्यापाक असन्तुष्टि देखापरिरहेको छ । सामाजिक सञ्जालमा युद्धको सम्भावनामाथि थप तेल नथप्न आग्रह गर्दै मानिसहरुले टिप्पणी गरिरहेका छन् । आम नागरिकको अलावा अन्तराष्ट्रिय जगत्का ठूला पत्रकारले पनि मिडियाको यो चरित्रप्रति आक्रोश र चिन्ता जनाएका छन् ।

फाइनान्सियल टाइम्सकी दक्षिण एसियाली ब्यूरो प्रमुख एमी काजिमले ट्वीटरमार्फत लेखेकी छिन्, ‘बालाकोट हमलाबारे भारत र पाकिस्तानी मिडियामा उत्पन्न भैरहेको विरोधाभाषपूर्ण कहानीले मलाई युद्धको तुसारो भन्ने उखानको नयाँ प्रमाण दिएको छ ।’

त्यस्तै राम सुब्रमनियम नाम गरेका एकजना व्याक्तिले ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘प्यारा भारतीय मिडियाहरु तपाईंहरुको शब्दहरु हाम्रो सैनिकहरुको मृत्युको कारण बन्न सक्छ । यदि तपाई उनीहरुको ख्याल गर्नुहुन्छ भने कृपया यसलाई रोकिदिनुस् । कृपया युद्ध अन्त्य गर्ने प्रयास गर्नुहोस् र अरु जीवन खसाप पार्न तेल नथप्नुहोस् ।’