पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् ।
ताप्लेजुङ । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो ।
पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् ।
पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ र हुरि बतास चल्यो”, मन्दिरका पुजारीको भनाइ उद्धृत गर्र्दै व्यवस्थापन समितिका अध्यक्ष तारा घिमिरेले भने। पूजा गरेर फर्कने बेला हिउँको चिसो छल्न मन्त्रीलगायतको टोली हेलिकप्टरमै बसेर मौसम खुल्ने प्रतीक्षामा चियासमेत पिउनुभएको थियो ।
“ उहाँ हतारहतारमा हुनुहुन्थ्यो, फेरि मौसम थप बिग्रेला भन्ने डर पनि थियो, त्यसैले हतारिनुभएको हो”, घिमिरेले भने। स्वर्गद्वारीबाट आएका एक फलारी बाबालेसमेत मौसम खराब भएको उल्लेख गर्नुभएको घिमिरेले सुनाए।केही समयको प्रतीक्षामा पाथीभराको ठीक पश्चिममा पर्ने ताप्लेजुङ क्षेत्र सिधा देखिन्छ केही मौसम खुलेको भन्ने सूचना आएपछि चालकले हेलिकप्टर उडाएका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, “मौसम चाहिँ खराब थियो तर दुर्घटना कसरी भयो भनेर भन्न सकिदैन ।”
हेलिकप्टर उडेको निकैपछि दुर्घटना भयो भन्ने सुन्दा विश्वास नै नलागेको पुजारी आचार्यले सुनाए। यता सुकेटार विमानस्थलमा पनि मन्त्री चढेको हेलिकप्टर पाथीभरा आउँदै छ भन्ने जानकारी आएको थिएन । तर थाहा पाएपछि विमानस्थलबाटै फोन गरेर जानकारी लिइएको एक कर्मचारीले बताए।
दुर्घटनास्थल पाथीभरा मन्दिरको पश्चिम ताप्लेजुङ बजार पाखोको भिरमा पर्छ । मन्दिर क्षेत्र १२ हजार फिट उचाईमा पर्छ । तर दुर्घटना करीब १० हजार ३९८ फिटको उचाइमा भएको थियो । सुकेटार विमानस्थलबाट दुर्घटनास्थलको खोँच प्रष्ट देखिए पनि घटनास्थल आँखाले ठम्याउन सक्दैन । विमानस्थलबाट करीब छ÷ सात किलोमिटर दूरीमा पर्ने सिस्ने खोलाको शिरमा घटना घटेको जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष गमबहादुर लिम्बूले बताए।
घटनास्लथको माथि र दायाँबायाँ ढुङ्गो छ । तल्लो क्षेत्रमा थोरै भाग जमीन छ । घटनास्थलको वरिपरि भिर छ । जानका लागि बाटोसमेत राम्रो छैन । भएको बाटो हिउँले पुरेको छ । घटनास्थलबाट कच्ची सडकमा आइपुग्न दुई घण्टा लाग्छ । त्यसपछि एक घण्टाको सडकमार्फतबाट सुकेटार विमानस्थल आइपुग्ने स्थानीयको भनाइ छ । बीचमा सामान्य ओडार जस्तो स्थानमा हेलिकप्टर बजारिएको र त्यसपछि आगो लागेको स्थानीयको दाबी छ ।
उक्त दुर्घटनामा मन्त्री अधिकारी र अङ्गरक्षक सेनाका जमदार अर्जुनप्रसाद घिमिरेको शव पहिचान भएको छ । अन्य पाँच शव पहिचान गर्न सकिएको छैन । पाथीभराको थुम्कोबाट उड्नेक्रममा नियमित गति लिन नसक्दा त्यसैको सिधा तल भिरमा गएर ठोक्किएको हुनसक्ने घटनास्थलमा पुगेका एक उद्धारकर्मीले बताए।
तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन गर्न पुगेका मन्त्री अधिकारीसहित उनका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो । यसअघि ताप्लेजुङको घुन्सामा विसं २०६३ असोज ७ गते पनि विशिष्ट व्यक्ति सवार हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।
के भन्छन् उद्धारकर्ता
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले हिउँ पर्दापर्दैको अवस्थामा उद्धार कार्य र शव उठाउने कार्य गरेका थिए । हिउँको कठ्याङ्ग्रिँदो चिसोमा लुगलुग काम्दै दुई दिन हिउँसँग पौँठेजोरीमै उनीहरु उद्धार कार्यमा जुट्दा केही स्थानीयसमेत घटनास्थलमा पुगेका थिए ।
घटना बुधबार दिउँसो करीब १ः२० बजे भएको थियो । उद्धारका लागि काठमाडौँबाट ३ः२० मा उडेको सेनाको एमआई–१७ हेलिकप्टर अपराह्न ४ः३० बजे सुकेटार विमानस्थल पुगेको थियो । उद्धार टोली लिएर तत्कालै घटनास्थल उडेको हेलिकप्टरले साँझ ५ः४६ बजे डोरीमा झुण्डाएर दुई शव सुकेटार विमानस्थलमा ल्यायो । हेलिकप्टर बस्ने ठाउँ नभएपछि उड्दाउड्दै दुई सेना डोरीमार्फत घटनास्थल झरेको थियो । त्यसअघि नै घटनास्थल पुगेका सुरक्षाकर्मीले शव सङ्कलन गरेर प्लास्टिकमा राखिसकेका थिए । सेनाका तालीमप्राप्त नायक प्रताप लामा र लेस नायक तेजव घलेले हुकमार्फत शवलाई बास्केटमा राखेपछि हेलिकप्टरले झुण्ड्याएर सुकेटार विमानस्थल ल्याएको थियो । हेलिकप्टरभित्र सेनानी चिरञ्जीवी चौलागाईंलगायत व्यवस्थापनमा खटिएका थिए। साँझ ६ बजे थप दुई शव सुकेटार ल्याइपुर्यपछि ६ः१० बाट हिउँ पर्न थाल्यो भन्ने खबर घटनास्थलबाट आएपछि सेनाले शव उठाउने कार्य स्थगित गर्यो । बाँकी तीन शव डोकामा बोकेर ल्याउने स्थानीय सुरक्षा संयन्त्रको प्रयास सम्भव नभएको प्रजिअ भण्डारीले बताए ।
बिहीबार बिहान करीब ७ बजे केही समय मौसम खुलेका बेला एकैसाथ तीन शव हेलिकप्टरले विमानस्थलमा ल्याएपछि मौसम बिग्रिएको थियो । शव झुण्ड्याएको डोरीमा झुण्डिएर नै सेनाका दुई उद्धारकर्ता विमानस्थल आएका थिए । करीब ८ बजेदेखि पर्न थालेको हिउँ ११ः४५ बजेसम्मै रह्यो । विमानस्थलमा आधा फिट हिउँ जमे पनि मौसम सफा भएपछि दिउँसो १२ः१० मा शव लिएर सेनाको हेलिकप्टर काठमाडौँ उडेको थियो । सेनाका उद्धारकर्ता कठिन अवस्थामा रात बिताएर उद्धारमा खटिएको अनुभव सुनाउँछन् । रासस