दक्षिण एसियाली लेखा व्यवसायीहरूको सम्मेलन काठमाडौंमा

सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यस वर्ष नेपालमा गरिने भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासङ्घ(साफा) सम्मेलन आगामी माग १६ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यस वर्ष नेपालमा गरिने भएको हो ।

’साफाको चेयर जुन राष्ट्रको हुन्छ, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने हो, सोही अनुसार यो वर्ष हामीले सम्मेलन गर्न थालेका हौँ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा आइक्यानका अध्यक्ष प्रकाशजङ्ग थापाले भने । यसअघि गत अगस्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो। ’त्यो समयमा साफाको चेयर अफगानसँग थियो, अफगानले अनेच्छा देखाएकाले हामीले बैठक गर्यौं, अहिले सम्मेलन नै गर्दैछौँ’ आइक्यानका उपाध्यकक्ष जगनाथ उपाध्यायले भने ।

वार्षिक बैठकको अवसरमा आयोजना गरिने सम्मेलनमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्वन्धी मापदण्ड तथा सार्क राष्ट्रहरूमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ । साफाका विभिन्न समितिहरूमध्ये कम्तीमा ७ ओटा समितिहरूको बैठक बस्ने, सार्क राष्ट्रका सातै देशको प्रतिनिधीहरूको सहभागित रहने जनाइएको छ ।

सम्मेलनको पहिलो दिन (साफा क्वीज एन्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरिने बताइएको छ । यस प्रतियोगितामा सदस्य राष्ट्रका व्यावसायिक लेखा सम्बद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने छ । यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक गर्न थालिएको आयोजकले जनाएका छन् ।

यसैगरी वित्तीय जोखिम व्यवस्थापन, पारदर्शिताका विषयमा छलफल गरिने कार्यक्रम निर्देशक, प्रमुख कार्यकारी अधिकृत, वित्त अधिकृत, प्रबन्धक, लेखा व्यवसायी, परामर्शदाता, संस्थाका सदस्य तथा विद्यार्थीहरूलाई लक्ष्य गरी आयोजना गरिने छ । सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ जना ख्यातीप्राप्त लेखा व्यावसायी तथा विशिष्ट व्यक्तित्वहरूबाट प्राविधिक पत्रहरू प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनमा चार सय राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायीको सहभागित रहने आइक्यानले जनाएको छ ।

साफामा नेपालसहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू छन् । सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रवधान छ । नेपालले सन् २०१० मा साफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को साफा अध्यक्ष आइक्यानका पूर्व अध्यक्ष सुबोधकुमार कर्ण हुन् ।