दार्चुला–तिङ्कर जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए । राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताए । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो ।

पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति भएकाले उद्धारमा समस्या भएको स्थानीयवासी वमले जानकारी दिए ।

अहिले स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् । “अँध्यारो भएका कारण दुर्घटनामा कति जना परे यकिन हुन सकेको छैन,” प्रहरी नायब उपरीक्षक चन्दले भने। रासस