वीरगञ्ज । नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ ।
फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर रङ्गशालामा २५१ वटा कुण्ड निर्माण गरिएको छ भने पण्डाल लगाउने, आगुन्तकलाई निःशुल्क भोजनको व्यवस्थामञ्च सजावट, वासस्थानलगायतका व्यवस्था पूरा भएको यज्ञका प्रेस संयोजक महेश दासले बताए।
सो महायज्ञमा पाँच लाख धर्मावलम्बी हवन गर्ने अनुमान गरिएको छ । महायज्ञलाई सफल बनाउन सात सयभन्दा बढी स्वमंसेवक भारतको महाराष्ट्र, राजस्थान र मुम्बईलगायतका ठाउँबाट आइसकेको आयोजक समितिका संयोजक तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताए।
सो यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द गरिएको छ। सो अवधिभरि वीरगञ्जमा मदिरा, माछा, मासु बिक्री वितरणमा समेत रोक लगाइएको छ । महायज्ञ सफल बनाउन ६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त पारिएको छ ।
यज्ञस्थलमा निर्माण गरिएको २५१ कुण्डीय यज्ञशाखामा एक हजार २०० जना साधकले साधना गर्नेछन् भने सो अवसरमा व्रतबन्ध, विवाह, दीक्षालगायतका १२ संस्कारको निःशुल्क व्यवस्था गरिएको छ।
राष्ट्रको समृद्धि, मनुष्यको शीघ्र स्वास्थ्य लाभ, धर्मको उत्थानको लागि हुन गइरहेको सो महायज्ञ स्थलको यज्ञकुण्डको पुजन शान्तिकुञ्ज हरिद्धार भारतबाट आएका ब्रह्मवादी महिला श्यामा राठौरको टोलीले पूजापाठ गरेका थिए ।