नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे । जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसङ्ग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए । राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ सङ्कल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने, ‘जनताको अपेक्षा पूरा गर्न नयाँ सङ्कल्प जरुरी छ । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ ।’
देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे । ‘हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौं’ अध्यक्ष दाहालले भने । सरकारका पछिल्ला गतिविधिप्रति सङ्केत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे । जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसङ्ग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए । प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारको पेशागत हित र सुरक्षाका लागि पनि राजनीतिक स्थायित्वको जरुरी रहेको धारणा राखे । कार्यक्रममा प्रेस सेन्टरले हालै स्थापना गरेको ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसीदास महर्जनलाई सम्मान गरियो । पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र छ ।
यस्तै जनयुद्धको समयमा युद्धपत्रकारितामा नै संलग्न सङ्गीता खड्का, देवकी तिमिल्सिनालगायतलाई पनि सम्मान गरिएको थियो ।