मन्त्रालयका सचिव महेश्वर दाहालले श्रम समझदारीका लागि आवश्यक प्रक्रिया पूरा गर्न र कुन कुन विषय समेट्न सकिन्छ भन्ने विषयमा थप छलफलका लागि प्राविधिक समूह कतारमा पठाउन लागिएको जानकारी दिए । उनले छलफलपछि श्रम सम्झौता हुने बताए ।
काठमाडौं । नेपालले पठाएको श्रम समझदारीको मस्यौदा (ड्राफ्ट) माथि थप छलफलका लागि फागुन अन्तिममा नेपाली टोली कतार जाने भएको छ । केही समयअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम समझदारीका लागि कतारलाई ड्राफ्ट पठाएको थियो ।
मन्त्रालयका सचिव महेश्वर दाहालले श्रम समझदारीका लागि आवश्यक प्रक्रिया पूरा गर्न र कुन कुन विषय समेट्न सकिन्छ भन्ने विषयमा थप छलफलका लागि प्राविधिक समूह कतारमा पठाउन लागिएको जानकारी दिए । उनले छलफलपछि श्रम सम्झौता हुने बताए ।
कतारमा धेरै नेपाली कामदार छन् । मलेसियाको रोजगारी बन्द भएपछि पछिल्लो समय धेरै नेपाली युवा कतार जाने गरेका छन् ।
कतार र नेपालबीच हुने नयाँ श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा कतार जान पाउने र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को मापदण्डअनुरुप नै सम्पूर्ण सेवा सुविधा प्राप्त गर्ने छन् ।
हाल कतार र नेपालबीच चलिरहेको छलफलमा कामदारको सुरक्षा, भिसा शुल्क, भिसा प्रोसेसिङ, मेडिकल जाँच, न्यूनतम पारिश्रमिक, बिदा, तलबी बिदा, राहदानी कामदारले नै राख्न पाउने व्यवस्था, सामाजिक सुरक्षा, महिला कामदारका हकमा विशेष सुरक्षा तथा बिमालगायतका विषय समेटिएको मन्त्रालयले जनाएको छ ।
कतारसँग २००५ मार्च २१ मा पहिलो पटक श्रम सम्झौता भएको थियो । कतारमा गत आर्थिक वर्षमा १ लाख ८३ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारका लागि गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन श्रम सम्झौता नभएका देशमा सम्झौता गर्ने र सम्झौता भइसकेका देशमा नयाँ समझदारी गर्ने नीति अघि सारेको छ । श्रममन्त्री गोकर्ण विष्टले श्रम सम्झौता नभएका देशमा कामदार नपठाउने घोषणा गरेका छन् । उनको यो घोषणासँगै अहिले खाडीमुलुकका विभिन्न देशमा श्रम सम्झौता र समझादारीका लागि प्रक्रिया अगाडि बढाइरहेको छ ।
गत कात्तिकमा मलेसियासँग श्रम समझदारी गरेको नेपालले कतार, दुबईलगायतका देशसँग श्रम सम्झदारीका लागि तयारी गरिरहेको छ ।
यस्तै युुरोपियन मुलुकमा पनि श्रम सम्झौता गर्ने तयारी अघि बढाएको छ । केही समयपछि नै जापानसँग श्रम सम्झौता गरेर नेपाली युवालाई कामदार भिसामा पठाउने तयारी भएको छ ।