तीव्र एवम् दिगो विकास अहिलेको आवश्यकता : ओली

राजनीतिक अधिकार प्राप्तिको लडाइँ समाप्त भएको चर्चा गर्दै उनले अबको एजेन्डा मुलुकलाई आर्थिक समृद्धितिर लैजानु रहेको ओलीको भनाइ छ ।

 

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६७औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत तथा सम्मान गर्दै अध्यक्ष ओलीले अब बन्ने नयाँ सरकार दिगो र समृद्धि हासिल गर्नेतर्फ लागिपर्ने बताए ।

राजनीतिक अधिकार प्राप्तिको लडाइँ समाप्त भएको चर्चा गर्दै उनले अबको एजेन्डा मुलुकलाई आर्थिक समृद्धितिर लैजानु रहेको जानकारी दिए । यसका लागि सरकार र निजीक्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । मुलुकमा व्याप्त गरिबी हटाई निजीक्षेत्रलाई प्रोत्साहन गरी मुलुक समृद्ध बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

उक्त अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालकै पहिलो व्यावसायिक सङ्गठन नेपाल चेम्बरको लामो इतिहासमा सिङ्गो राजनीतिक पार्टीबाट सम्मान पाउनु सम्भवतः पहिलो पटक भएको बताबताए । सम्मानले निजीक्षेत्रलाई थप जिम्मेबार बनाएको महसुस भएको उनको भनाइ छ । मुलुकको आर्थिक समृद्धिका लागि सरकारले गर्ने प्रयासमा हस्टेमा हैंसे गर्न आफूहरु तयार रहेको स्पष्ट पार्दै उनले यसका लागि निजीक्षत्रले निरन्तर सहयोग गर्दै आएको समेत स्मरण गराए ।

कार्यक्रममा पार्टीका उच्चपदस्थ व्यक्तित्व, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्य समितिका सदस्य सहभागी थिए । नेपाल चेम्बरको हालै सम्पन्न ६७औं साधारणसभाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा ६३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।