जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यमसमेत अलपत्र अवस्थामा पुगेको छ ।
राँझा । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् ।
जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यमसमेत अलपत्र अवस्थामा पुगेको छ ।
स्वदेशमै बिनाब्याज र बिनाधितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले प्रत्येक युवा समूहलाई पाँच लाख रूपैयाँका दरले बिनाब्याज ऋण लगानी गर्न समितिले बाँकेमा आर्थिक वर्ष ०७३/७४ मा पाँच समूह र ०७४/७५ मा तीन समूह गरी आठ समूहको व्यवसाय योजना स्वीकृत गरेको थियो ।
आठ समूहमध्ये तीन समूहमा मात्र ऋण लगानी भएको छ । त्यसमा पनि दुई वटामा ५० प्रतिशतमात्रै लगानी भएको छ भने पाँच समूहमा हालसम्म लगानी नहुँदा युवा समूहले सञ्चालन गरेको उद्यम अलपत्र अवस्थामा छ । चालू आवदेखि जिल्ला युवा समिति निष्क्रिय भएपछि युवा थप अन्योलमा परेका छन् ।
समितिका अध्यक्ष कमल बस्नेतका अनुसार, आर्थिक वर्ष ०७३/७४ मा व्यवसाय योजना स्वीकृत भएका पाँच समूहमध्ये टिटिहिरिया बाख्रापालन समूह बैजनाथ गाउँपालिका–८ लाई पाँच लाख, शिवराजपुर तरकारी समूह डुडुवा गाउँपालिका ५, दुई लाख ५० हजार र प्रगतिशील पशुपालन समूह नेपालगञ्ज उपमहानगरपालिका–२० मा दुई लाख ५० हजार रूपैयाँ लगानी भएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा व्यवसाय स्वीकृत भएका तीन वटै युवा समूहमा हालसम्म लगानी हुनसकेको छैन । टिटिहिरिया बाख्रापालन समूहले जसोतसो बाख्रापालन गरेको छ भने ५० प्रतिशत ऋण प्राप्त गरेका दुई समूहको अवस्था निराशाजनक छ ।
“गाउँमै साथी मिलेर काम गर्ने सोचका साथ लगानी गरेका हौँ, तर पाउने भनेको ऋण पनि पूरै पाउन नसक्दा पशुपालन अलपत्र अवस्थामा छ”, प्रगतिशील पशुपालन समूहका सञ्चालक सुरज शाहले भने, “पाँच लाख रूपैयाँ पाउने कुरा हो, साढे दुई लाख मात्र आयो त्यसमा पनि एक लाख सहकारीले नै राखेकाले डेढलाखले के पशुपालन गर्ने अलपत्र छ ।”
टिटिहिरिया बाख्रापालन समूहका सञ्चालक सुदिप सेढाईंले समूहमा ऋण ल्याउन ठूलो समस्या झेल्नु परेको बताए । उनले भने, “बाख्रापालनमा हामी थप लगानी गर्न चाहन्छौँ, तर कसैले ऋण पत्याउँदैन, २० वटा बाख्रापालेर के फाइदा हुन्छ र ?”
जिल्ला युवा समितिले बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घमार्फत युवा समूहमा ऋण लगानी गर्दै आएको छ । बाँकेमा बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घले नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थामार्फत युवा समूहमा ऋण लगानी गर्दै आएको छ ।
व्यवसाय सञ्चालनको लागि पञ्चवर्षीय कार्ययोजना र न्यूनतम पूर्वाधार पूरा गर्न नसकेका कारण युवा समूहलाई सहकारी संस्थाले ऋण लगानी गर्न नसकेको पाइएको बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घको नेपालगञ्जस्थित फिल्ड कार्यालयका प्रमुख यम डाँगीले बताए । युवा समितिको कार्यालय निष्क्रिय भएपछि अहिले राष्ट्रिय युवा परिषद्ले कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न शुरु गरेको परिषद्का उपसचिव कर्णबहादुर भुवाजीले बताए । उनले लगानी हुन नसक्नुको समस्या पहिचान गरी लगानीको वातावरण बनाउने जानकारी दिए । –भेषराज बस्नेत/रासस