काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन चैत २६ गते हुने भएको छ । संघको बिहिबार बसेको बैठकले चैत २६ गते नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
वर्तमान कार्यसमितिको कार्याकाल २०७६ असार ३० गतेसम्म भएपनि संघले चैत २६ मा नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न लागेको हो ।
बैठकपछि संघका अध्यक्ष रोहन गुरुङ र महासचिव नरेश गेलालद्धारा हस्ताक्षरित विज्ञप्तीमा २०७२ को भुकम्पअघि चैत २६ मै निर्वाचन हुने परम्परा दिनका लागि निर्वाचन गर्न लागिएको उल्लेख छ । २०७२ को भुकम्प र अन्य कारणले चैतमा हुने निर्वाचन असारमा सरेको पनि विज्ञप्तीमा उल्लेख छ ।
वर्तमान कार्यसमितिले वैदेशिक रोजगार व्यवसायमा विभिन्न समसामयिक विषयहरुको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएको थियो ।
१० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउनका लागि संघले श्रममन्त्री गोकर्ण विष्टविरुद्ध आन्दोलनसमेत गरेको थियो । त्यस्तै म्यानपावर कम्पनीको धरौटी बढाउने विषयमा पनि संघले विरोध गरेको थियो । संघको विरोधपछि धरौटी रकम केहि कम भएको थियो ।
एउटै पार्टीको भएकाले संघका अध्यक्ष गुरुङलाई श्रममन्त्रीको विरोध नगर्ने पार्टी र मन्त्रीले समेत दबाब दिएपनि गुरुङले मन्त्री विष्टका तीव्र आलोचना र विरोध गर्दै आइरहेका थिए ।
मलेसियाको रोजगारी नखुल्नु, बैशाख ३१ गतेदेखि युरोपका दुतावासमा अनिवार्य मागपत्र प्रमाणिकरण गर्नुपर्ने भएकाले युरोपका रोजगारी घट्दै जानु र खाडी मुलुकमा पनि भनसुनमा मागपत्र प्रमाणीकरण हुन थालेपछि वैदेशिक रोजगारी थला पर्दै गैरहेको अवस्थामा संघको निर्वाचनले आगामी योजनामा खास अर्थ राख्ने व्यवसायीहरु नै बताउँछन् ।
संघकै एक कार्यसमिति सदस्यले मन्त्री विष्टकै दबाबका कारण गुरुङले अध्यक्ष छोड्नका लागि निर्वाचन गर्न लागेको क्यापिटल नेपाललाई बताए । ‘एउटै पार्टी भएकाले मन्त्रीज्यूले अध्यक्षलाई बारम्बार विरोध नगर्ने दबाब दिनुभएको थियो त्यहि कारणले पनि अध्यक्षले चाँडै छोड्न निर्वाचन गर्न लागेको हामीले बुझेका छौं,’ उनले भने ।
(माथी तस्बिरमा वर्तमान कार्यसमिति)