सङ्घीय संरचनाअनुसार नेपालको प्रशासनिक नक्सा सार्वजनिक

भूमिमन्त्री पद्माकुमारी अर्यालले सङ्घीय संरचनाअनुसारको नक्सा प्रकाशन गर्ने तयारी भए पनि प्रदेशहरूको नामकरण सकिएपछि गरौं भनेर ढिलाइ भएको बताइन् । अहिलेसम्म पुरानै नक्सा प्रयोग गर्दै आएको बताउँदै मन्त्री अर्यालले त्यसबारे केही प्रश्नहरू उठ्दै आएकाले यसअघि नै सङ्घीय संरचनाअनुसारको नक्सा ल्याउन नापी विभागलाई निर्देशन गरिसकेको बताइन् ।

काठमाडौं । नेपालको सङ्घीय संरचनाबमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो ।

भूमिमन्त्री पद्माकुमारी अर्यालले सङ्घीय संरचनाअनुसारको नक्सा प्रकाशन गर्ने तयारी भए पनि प्रदेशहरूको नामकरण सकिएपछि गरौं भनेर ढिलाइ भएको बताइन् । अहिलेसम्म पुरानै नक्सा प्रयोग गर्दै आएको बताउँदै मन्त्री अर्यालले त्यसबारे केही प्रश्नहरू उठ्दै आएकाले यसअघि नै सङ्घीय संरचनाअनुसारको नक्सा ल्याउन नापी विभागलाई निर्देशन गरिसकेको बताइन् ।

बजारमा धेरैखाले नक्सा पाइएकाले ढिलो गर्दा ठिक हुँदैन भन्ने मान्यताले अहिले नै नक्सा सार्वजनिक गरिएको उनको भनाइ छ । सार्वजनिक गरिएको नक्सा तत्काल सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा पुर्याउने र त्यसपछि प्रदेशस्तर र ७५३ पालिकामै आधिकारिक नक्सा पुर्याउने मन्त्री अर्यालले बताइन् ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सङ्घीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक छिट्टै गर्नुपर्ने भए पनि प्रदेशहरूको नामकरण नभएका कारण ढिलाइ भएको बताए । तर हालसम्म पनि प्रदेशहरूको नामकरण नसकिएकाले ढिलो गर्दा समस्या हुनसक्ने भएकाले मन्त्री अर्यालको निर्देशनमा हालका लागि ३ प्रदेशको मात्र नामकरण गरिएको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिए ।

नक्सामा सात ओटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, सहर, सीमा, निकुञ्ज, नदी तथा प्रमुख ठाउँहरूको नाम उल्लेख गरिएको छ । नेपाली भाषामा प्रकाशन गरिएको यस नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताए । पछि क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ ।