तरकारीमा विषादीको अवशेष कम हुँदै

नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए ।

देशका विभिन्न स्थानमा रहेका तरकारी बजारमा विषादीको अवशेष कम हुँदै गएको छ । नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए ।

साना तरकारी बजार जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर सञ्चालन हुन्छन् । सरकारको प्रत्यक्ष सहयोगमा देशभर २७ ओटा थोक बजार छन् भने तिनमा नियमित रुपमा विषादीको जाँच हुन्छ । ‘बाली संरक्षण निर्देशनालयले नियमित रुपमा परीक्षण गरेकाले तरकारीमा विषादीको अवशेष कम हुँदै गएको छ,’ वाग्लेले भने । किसान र उपभोक्तामा चेतनाको स्तर बढेको उनको भनाइ छ । किसानले विषादीको मात्रा विचार गरेर बजार लैजाने गरेका छन् । उपभोक्ताले शङ्का लाग्दा गुनासो गर्ने गरेका छन् । ‘सरकारले देशका मुख्य बजारमा विषादी अवशेषको जाँच बढाउँदा किसान र उपभोक्ता जागरुक भएका हुन्,’ उनले भने ।

सरकारको प्रत्यक्ष सहयोग रहेका थोक बजारमा विषादी अवशेष परीक्षण बाली संरक्षण निर्देशनालयले गर्छ भने अरु व्यवस्थापनको काम कृषि प्रवद्र्धन निर्देशनालयले गर्छ । निजी क्षेत्रबाट सञ्चालित थोक बजारमा पनि सरकारले नियमन गरिरहेको छ । निजी क्षेत्रबाट सञ्चालित ठूला थोक बजारको सङ्ख्या अहिले बढ्दो छ ।