श्रम मन्त्रालयले भन्यो— कतारसँग श्रम सम्झौतासँगै भिसा सेन्टरका विषयमा पनि निर्णय हुन्छ

श्रम सम्झौतालगायत कतार भिसा सेन्टरका विषयमा छलफल गर्न कतारले पटक पटक नेपाललाई बोलाए पनि नेपालले तीन पटक समय दिएर पनि नगएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

काठमाडौं : कतारले नेपालमा राख्न लागेको कतार भिसा सेन्टरका विषयमा नेपालले कतारमा प्राविधिक टोली गएर छलफल गर्ने जनाएको छ । नेपाल र कतारबीचको हुन लागेको नयाँ श्रम सम्झौतामा कतारले नेपालमा राख्न लागेको भिसा सेन्टरका विषयमा पनि टुुंगो लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कतारसँग नेपालले पहिलो पटक २००५ मार्च २१ माश्रम सम्झौता गरेको थियो ।

नयाँ श्रम सम्झौताका लागि नेपालले कतारलाई मस्यौदा पठाइसकेको छ । कामदारको हकअधिकार, सुविधा, तलब, बिदादेखि लिएर कामदार लिने प्रक्रियाका विषयमा श्रम सम्झौतामा बुँदाहरु राखिएको मन्त्रालयले जनाएको छ । सम्झौतामा कतारले नेपालमा राख्न खोजेको भिसा सेन्टरका विषयमा पनि अन्तिम छलफल हुने मन्त्रालयले जनाएको छ । छलफलका लागि आगामी साता नेपालबाट प्राविधिक टोली कतार जाने तयारीमा छन् ।

कतारले २०१८ डिसेम्बरमै नेपालमा कतार भिसा सेन्टर राख्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई जानकारी गराएको थियो । तर मलेसिया जाने कामदारलाई विभिन्न संस्थाले ठगी गरेको भन्दै श्रम मन्त्रालयले कारबाही गरिरहेका बेला कतारमा पनि त्यस्तै संयन्त्र हुने आशंका गर्दै श्रम मन्त्रालयले स्वीकृति नदिएपछि कतार पछि हटेको थियो । श्रममन्त्री गोकर्ण विष्टले कामदार ठगिन सक्ने भन्दै तत्काल भिसा सेन्टर स्थापना गर्न स्वीकृति दिएका थिएनन् ।

श्रम सम्झौतालगायत कतार भिसा सेन्टरका विषयमा छलफल गर्न कतारले पटक पटक नेपाललाई बोलाए पनि नेपालले तीन पटक समय दिएर पनि नगएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

कतारको श्रम मन्त्रालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसको सहित समय मागेर बैठक भए पनि नेपालबाट जान ढिला भएकाले श्रम सम्झौता र कतार भिसा सेन्टरका विषयमा ढिला भएको परराष्ट्रका एक उपसचिवले बताए । श्रम मन्त्रालयले श्रम सम्झौताका विषयमा आफू मातहत निर्णय हुने भएकाले तयारी गर्नुपर्ने भन्दै ढिला गरेको उनले बताए ।

नेपालस्थित कतारका राजदूत युुसुफ विन मोहम्मद केही दिनअघि कतार पुगेर नेपालको विषयमा कतार सरकारलाई जानकारी गराइसकेका छन् । एक साता बढी कतार बसेर मार्च ३ मा नेपाल आएका युसुफले श्रम सम्झौता र कतार भिसा सेन्टर स्थापनाको तयारीको विषयमा जानकारी गराएको दूतावास स्रोतले बतायो ।

श्रम मन्त्रालयका सचिव महेश्वर दाहालले नेपाली प्राविधिक टोली आगामी साता कतार जाने बताए । ‘कतारसँग गर्न लागिएको नयाँ श्रम सम्झौतामा कतार भिसा सेन्टरको विषयमा पनि छलफल हुन्छ,’ उनले भने । कतारसँग नयाँ श्रम सम्झौताका विषयमा तयारी अन्तिम भइरहेको छ, त्यही बेला सबै विषय टुङ्गो लाग्ने उनले बताए ।

कतारले श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशमा कतार भिसा सेन्टर स्थापना गरेर काम थालिसकेको छ । मार्चका अन्तिमदेखि भारतमा पनि भिसा सेन्टर सञ्चालन हुने कतार सरकारले जनाएको छ । त्यस्तै फिलिपिन्स र इन्डोनेसियामा अप्रिलमा सञ्चालन हुने पनि कतार सरकारले जानकारी गराइसकेको छ ।