हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदुरको अभाव भएपछि चिया व्यवसाय नै सङ्कटमा परेको छ । मजदुर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ ।
बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदुरको अभाव हुन थालेको छ ।
हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदुरको अभाव भएपछि चिया व्यवसाय नै सङ्कटमा परेको छ । मजदुर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गरेर गुजारा चल्न छाडेपछि ३२ वर्षदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इलाम नगरपालिका–७ की सरस्वती चौलागाईंले काम छोडेकी छन् । ‘रातदिन चिया बगानमा खट्नुपर्छ, काम गरेको पैसाले पुग्दैन, बिहान बेलुका हातमुख जोर्न मुस्किल परेपछि काम छोडेकी हुँ’, उनले भनिन् ।
इलामका चार र झापाका तीनओटा चिया बगानमा कार्यरत मजदुरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् । दैनिक आठ घण्टा काम गरेबापत २ सय ५४ रुपैयाँ पारिश्रमिक तोकिएको छ । यहाँका चिया बगानमा कार्यरत मजदुरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् । मजदुर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ । पत्ती छिप्पिने गरेको छ । युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट सहर जाने र सहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् ।
मजदुर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्योदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताए । चिया मजदुरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदुर आशिष राई बताउँछन् । इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । इलामका चारओटा चिया बगानमा कार्यरत मजदुरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ । धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदुर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदुरमात्र भेटिन्छन् ।
जीवनको आधा उमेर चिया बगानमा काम गरे पनि आफूहरूको पक्षमा कुनै ठोस प्रगति हुन नसकेको राईको गुनासो छ । बूढेसकालमा चिया मजदुरका लागि न त निवृत्तिभरण छ, न त उपदानकै व्यवस्था । नेपाल चिया मजदुर श्रमिक सङ्घकी केन्द्रीय उपाध्यक्ष नर्वदा निरौलाले चिया मजदुरको समस्या समाधान गर्न चिया बगान र उद्योग व्यवस्थापन गम्भीर बन्नुपर्नेमा जोड दिइन् । पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदुर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् । सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४ सय ४६ चिया मजदुर विस्थापित भइसकेका छन् ।
सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनओटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो । सो समयमा ८ सय ५८ मजदुर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् । चिया व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा समेत कटौती गरेपछि मजदुरले चियामा काम गरेको पैसाले परिवार पाल्नै धौधौ परेको जनाउँदै धमाधम काम छाडेका हुन् । अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा ४ सय ७३ स्थायी मजदुर रहेकामा हाल १०५ जना मात्र कार्यरत छन् । कन्याम चिया बगानमा ८० जना करारका श्रमिक छन् । सोक्तिम र चिलिमकोट चिया बगानले भने करारमा मात्रै मजदुर राखेका छन् ।
अर्थाेडक्स चिया बगानमा पारिश्रमिक र मजदुरको पक्षमा कुनै सहुलियत नहुँदा चिया मजदुर पलायन बढेको एकदशकदेखि चिया क्षेत्रमा काम गर्दै आएका तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा बताउँछन् । उनी भन्छन्, ‘चियामा काम गर्ने मजदुरको भविष्य उज्ज्वल हुने किसिमका योजना नल्याए निजीकरण गरिएका यी चिया बगान झाडीमा परिणत हुने स्थिति छ ।’
जिल्लामा सात हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । चिया प्रशोधनका लागि यहाँ साना ठूला गरी सयभन्दा बढी उद्योग सञ्चालनमा छन् ।