रवीन्द्रभक्त श्रेष्ठ, थकानसँग जसको शत्रुता छ

नयाँनयाँ आइडिया ल्याएर मात्रै होइन, आफ्नो व्यवसायको दायरासमेत फराकिलो बनाएर विश्वबजारमा एनई ग्रुपलाई उभ्याउन पनि उत्तिकै लागिपरेका छन्, रवीन्द्रभक्त ।

घरको वातावरण नै व्यावसायिक । त्यसो भएपछि व्यवसाय र उद्यमका विषयमा घरमै छलफल र योजना नबन्ने कुरै भएन । त्यसैले नेपाल इन्टरप्राइजेज (एनई ग्रुप)का निर्देशक रवीन्द्रभक्त श्रेष्ठले सानैदेखि व्यावसायिक वातावरणमा घुलमिल हुन पाए । त्यसैले त उनले सानैदेखि उद्योगी बन्ने सपना देखे । त्यसलाई पूरा गर्न भने हजुरबुबा इन्द्रभक्त श्रेष्ठको साथ र बुबा रविभक्त श्रेष्ठको पे्ररणा पर्याप्त भयो उनलाई ।

प्रतिष्ठित व्यावसायिक घरानामा जन्मेहुर्केकाले होला, उनले सोचेका सपना पूरा गर्न कठिन भएन । त्यति मात्रै होइन, उनी सानैदेखि हजुरबुबाले गरेको व्यवसायबारे चासो राख्थे । पत्रपत्रिकामा आउने दैनिक ‘बिजनेस समाचार’बारे जानकारी गराउन पनि हजुरबुबाको साथ लागेर जान्थे । त्यसले पनि उनलाई उद्योगी बन्न थप प्रेरणा दियो । उनी भन्छन्, ‘मैले सानैमा सोचेको थिएँ, पारिवारिक व्यवसाय अघि बढाउँछु । र त्यसलाई थप उचाइमा लैजान्छु ।’ अन्य उद्योगी व्यवसायीका छोराछोरी पाइलट, डाक्टर, इन्जिनियर बन्ने सपना देखेर बसेका हुन्छन्, उनीहरु आफ्ना बाबुबाजेले सुरु गरेको व्यवसायलाई अघि बढाउँछु भनेर खासै अघि बढेकै हुँदैनन् । ‘तर म जहिल्यै यही व्यवसायलाई माथि उठाउन काम गर्छु भन्ने सोचेर नै अघि बढें,’ उनले भने ।

रवीन्द्रले हजुरबुबा इन्द्रभक्त श्रेष्ठबाट व्यावसायिक प्रेरणा पाए । ‘उहाँकै प्रेरणाअनुसार त हो, म यो स्थानमा आइपुगेको,’ उनी सम्झिन्छन्, ‘म हजुरबुबाको अफिसमा जान्थें, उहाँले गरेका काम हेर्थें र भनेका कुरा सुन्थें । त्यो बेला उहाँले भनेको कुराबाट म धेरै प्रभावित छु ।’

त्यसपछि त हो, उनले महङ्खवाकाङ्क्षा सँगालेको पनि । ‘अनि मैले त्यही बेला सपना देखें— म पनि उद्योगी बन्छु । आज त्यही सपना पूरा गर्न दिनरात लागेको छु,’ उनी भन्छन् । रवीन्द्रभक्तको मनका उद्योगी बन्ने हुटहुटी थियो । तर परिवारको मूलमन्त्र भने पहिला पढाइ अनि व्यवसाय थियो । त्यही क्रममा अध्ययनका लागि उनी भारत गए । भारतमा माध्यमिक तहको अध्ययन सकेर उनी उच्चशिक्षा हासिल गर्न बेलायततिर लागे । बेलायतमा उनले प्लस टू तहसम्मको अध्ययन सके र स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि अमेरिका गए । र अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर सके ।

औपचारिक शिक्षा हासिल गरेर मात्रै नेपालमा व्यवसाय सम्हाल्न सकिन्न भन्ने लागेको थियो— रवीन्द्रभक्तलाई । त्यही भएरै होला सायद, उनले अमेरिकाको सिटी बैङ्कमा दुई वर्ष कामसमेत गरे । नेपाल आउनेबित्तिकै व्यवसायमा माथिल्लो पोस्टको जिम्मेवारी आउँछ भन्ने उनले बुझेका थिए । त्यसैले अत्यन्त मिहिनेतसाथ अनुभवका लागि भए पनि काम गरे ।

अमेरिकाको सिटी ग्रुपअन्तर्गतको बैङ्कमा हप्ताको एक सय घण्टासम्म काम गरे उनले । भन्छन्, ‘अमेरिकामा मैले हदैसम्म दुःख गरेर काम गरें । त्यो बेला सबैले भन्ने गर्थे— तिमी अब नेपाल फर्किंदैनौ ? अमेरिकामै सेटल भयौ । हुँदाहुँदा मेरो परिवारले समेत छोरो फर्किंदैन कि भन्ने सोच्न थालेका थिए । तर ममा अमेरिका बस्ने कुनै सोच थिएन । जति गर्छु नेपालमै गर्छु भन्ने मनमा लागेको थियो ।’ उच्चशिक्षा अध्ययन पूरा गरे । र दुई वर्षको कामको अनुभव बटुलेर उनी २०१० मा नेपाल फर्किए । त्यसपछि सुरु भयो— रवीन्द्रभक्तको व्यावसायिक करिअर ।

नौ वर्षअघि नेपालको अवस्था राम्रो थिएन । सङ्क्रमणकाल एवम् लगानीअमैत्री वातावरणले देश आक्रान्त थियो । ‘तर मैले त्यही बेला नेपाल आएर एउटा नयाँ फ्याक्ट्री लगाएको हुँ,’ उनले भने । एनई गु्रपका निर्देशकको कुशल जिम्मेवारी सम्हालेका श्रेष्ठ आफ्नै आइडियामा आइसक्रिम उद्योग लगाए । ‘बुबाको साथ तथा पे्ररणाबाटै खोलिएको उद्योगको उत्पादन ‘अजब’को ब्रान्ड चर्चित छ,’ उनले भने, ‘त्यो मेरो पहिलो परियोजना थियो । अहिले हाम्रो आइसक्रिमकोे ग्रोथ ३० प्रतिशत छ ।’

सन् २०१२ मा मैले अर्को व्यवसाय सुरु गरें, जहाँ स्वास्थ्यसम्बन्धी काम हुन्छ । ब्लड परीक्षण, क्यान्सर परीक्षणलगायत काम हुन्छन् ।’ सन् २०१० अगस्टबाट एनई ग्रुपको निर्देशक भएका श्रेष्ठ हाल युनिलिभर नेपाल, नेसनल आइसक्रिम इन्डस्ट्रिज प्रालि, सुपर रिलायगर रिफरेन्स ल्याबोरेटरिज, नेपाल प्रालिका पनि निर्देशक हुन् । एनई ग्रुपमा उनी तेस्रो पुस्ता हुन् । स्वर्गीय इन्द्रभक्त श्रेष्ठले स्थापना गरेको ग्रुपलाई सशक्त एवम् अघि बढाउन रविभक्त श्रेष्ठको ठूलो योगदान रह्यो । इन्नोभेटिभ काम गर्दै ग्रुपलाई थप बलियो बनाउन रवीन्द्रभक्त दिनरात जुटेका छन् । घर होस् अथवा कार्यस्थल नै किन नहोस्, उनी नयाँनयाँ व्यावसायिक योजना बनाउन लागिपरेका देखिन्छन् । यस्तो लाग्छ, उनी अथक योद्धा हुन्, जसलाई थकानसँग शत्रुता छ ।

नयाँनयाँ आइडिया ल्याएर मात्रै होइन, आफ्नो व्यवसायको दायरासमेत फराकिलो बनाएर विश्वबजारमा एनई ग्रुपलाई उभ्याउन पनि उत्तिकै लागिपरेका छन्, रवीन्द्रभक्त । बैङ्क तथा वित्तीय क्षेत्र, सेवामूलक उद्योग तथा उत्पादनमूलक उद्योगमा जमेको ग्रुप हो— एनई । यति हुँदाहुँदै पनि रवीन्द्रभक्तले त्यसको दायरा अझ फराकिलो बनाउने सोच बनाएका छन् । भन्छन्, ‘रियल इस्टेट र अटोमोबाइल क्षेत्रमा पनि हामी प्रवेश गर्दै छौं ।’ त्यति मात्रै होइन, प्राइभेट इक्विटी फन्ड बनाएर अघि बढ्ने उनको योजना छ ।

‘अमेरिकामा पनि मानिस तब मात्रै सुरक्षित भएको महसुस गर्छ, जब ऊसँग बस्नका लागि एउटा आवास हुन्छ,’ उनले भने, ‘नेपालीको चाहना पनि त्यस्तै छ । नेपालीहरुको त्यही चाहना पूरा गर्न केही समयपछि रियल इस्टेट व्यवसायमा पनि लाग्न खोजेको हुँ ।’

हजुरबा र बुबाले अघि बढाएको व्यवसायमा इँटा थप्नु त छँदै छ, त्यसबाहेक आफैं पनि नयाँनयाँ व्यवसायमा पनि काम गरिरहन रुचाउँछन्, श्रेष्ठ । नेपालका बैङ्क वित्तीय संस्थामा बेलाबेलामा अधिक तरलताको अभाव हुने र त्यसले उद्योग व्यवसायमा ठूलो असर पार्ने देखेरै श्रेष्ठ आफैंले इक्विटी फन्ड बनाएर अघि बढ्ने उद्देश्यमा लागिपरेका छन् । निरन्तर ।