एक वर्षमा सरकारका कुन मन्त्री कहाँ गए ?

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आफ्नै नेतृत्वमा विदेश भ्रमणमा गएका छैनन् । तर उनीहरु प्रधानमन्त्री केपी ओलीसँग भने पटकपटक बाहिर गएका छन् ।

काठमाडौँ । एक वर्षमा औपचारिक रुपमा मन्त्रिपरिषद्का दुई सदस्य र एक पूर्वसदस्यले विदेश भ्रमण गरेको देखिँदैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आफ्नै नेतृत्वमा विदेश भ्रमणमा गएका छैनन् । तर उनीहरु प्रधानमन्त्री केपी ओलीसँग भने पटकपटक बाहिर गएका छन् ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपाी विकास राज्यमन्त्री रामकुमार चौधरीले विदेश भ्रमण गरेको देखिँदैन । त्यसैगरी पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पनि विदेश भ्रमण गर्न पाएनन् । यहाँ प्रस्तुत विदेश भ्रमण उनीहरुको नेतृत्वमा भएको सहभागिता मात्रै हो, त्यसबाहेक प्रधानमन्त्री तथा अन्य प्रतिनिधिमण्डलमा समावेश मन्त्री तथा राज्यमन्त्रीहरुको विवरण समावेश छैन ।

केपी ओली, प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओली पहिलो विदेश भ्रमणका रुपमा २०७४ चैत २३ देखि २५ गतेसम्म छिमेकी मुलुक भारत पुगेका थिए । सुरुमा चीन जाने हल्लाका बीच प्रधानमन्त्री भारत भ्रमणमा निस्किएपछि त्यति बेला अन्ततः प्रधानमन्त्री भारतभक्त भएको आरोपसमेत लागेको थियो । भारत भ्रमणको साढे दुई महिनापछि प्रधानमन्त्री ओली असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमणमा निस्किए । त्यसैगरी प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३औं महासभामा भाग लियो । र कोस्टारिकाको औपचारिक भ्रमण पनि ग¥यो ।

डा. युवराज खतिवडा, अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा २०७४ फागुन ३० देखि चैत १ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । त्यसैगरी २०७५ वैशाख २० देखि २३ गतेसम्म खतिवडासहितको प्रतिनिधिमण्डल फिलिपिन्सको मनिलामा भएको एसियाली विकास बैङ्कको बोर्ड अफ गभर्नर्स बैठकमा सहभागी भएका थिए । त्यस्तै भारतको मुम्बईमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको तेस्रो वार्षिक बैठकमा पनि अर्थमन्त्री खतिवडासहित प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यसैगरी अर्थमन्त्री खतिवडासहितको प्रतिनिधिमण्डल विश्व बैङ्कको केन्द्रीय कार्यालय अमेरिकामा भएको एक कार्यक्रममा सहभागी भएको थियो ।

मातृका यादव, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव २०७४ चैत ४ र ५ गते भारतमा भएको बहुपक्षीय विश्व व्यापार सङ्गठनको अनौपचारिक मन्त्रीस्तरीय बैठकमा सहभागी भए । उनी नै यो मन्त्रीमण्डलबाट पहिलो विदेश भ्रमण गर्ने व्यक्ति हुन् । त्यसपछि उनी कजाकस्तानको अस्तानमा भएको भूपरिवेस्ठित विकासोन्मुख मुलुकहरुको मन्त्रीस्तरीय बैठक (जेठ १–३)मा सहभागी भएका थिए । उद्योगमन्त्री यादवलाई उपचारका लागि भारत तथा थाइल्यान्डसमेत लगिएको थियो । त्यस्तै मन्त्री यादवसहितको प्रतिनिधिमण्डलले स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न ‘अन्क्ट्याड वल्र्ड इन्भेस्टमेन्ट फोरम, २०१८’ मा सहभागिता जनाएको थियो । त्यस्तै उनीसहितको प्रतिनिधिमण्डलले छिमेकी मुलुक भारतको नयाँ दिल्ली भ्रमण गरेको छ ।

चक्रपाणि खनाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री

वैशाख २५ देखि २७ सम्म इजरायलमा सम्पन्न ‘२०औं इनटरनेसनल एक्जिब्युसन एरिस्टेक २०१८’ मा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल सहभागी भएका थिए । त्यसैगरी कृषिमा नयाँ साझेदारीका विषयमा छलफल गर्न मन्त्री खनालकै नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल भारतको नयाँ दिल्ली गएका थिए ।

गोकर्ण विष्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

स्विट्जरल्यान्डको जेनेभामा जेठ दोस्रो साता आयोजना भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०७औं सम्मेलनमा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसहितको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

थममाया थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

चीनको बेइजिङमा जेठ पहिलो साता आयोजित ‘फस्र्ट साङ्घाई कोअपरेसन अर्गनाइजेसन ओमेन्स फोरम’मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । त्यसैगरी बेलायतको ओलम्पिक पार्कमा आयोजित ‘ग्लोबल डिसाबिलिटी समिट’मा मन्त्री थापासहितको प्रतिनिधि सहभागी भयो ।

रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ‘चाइना नेपाल रेलवे टेक्निकल एन्ड नेगोसिएसन फर रेलवे डेभलपमेन्ट इन नेपाल’ विषयक कार्यक्रममा सहभागी हुन चीन गए । त्यसको केही समयपछि फेरि उनी चीनको बेइजिङमा सम्पन्न ‘वल्र्ड ट्रान्सपोर्ट कन्भेन्सन २०१८’मा भाग लिन पुनः चीन गए । मन्त्री महासेठले भारतको नयाँ दिल्लाीमा भएको ‘मुभ ः ग्लोबल मोबिलिटी समिट’मा भाग लिए । तर यो कार्यक्रममा महासेठले भाग लिँदा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने बताइएको थियो । त्यसैगरी अलानबटार मङ्गोलियनमा सम्पन्न ‘इलेभेन्थ रिजनल ईएसटी फोरम इन एसिया’ कार्यक्रममा मन्त्री महासेठसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । त्यसैगरी मन्त्री महासेठसहितको प्रतिनिधिमण्डलले चीनको छेङ्दुमा आयोजित ‘दि बेल्ट एन्ड रोड कन्ट्रिज (रिजन्स) इन्टरप्राइजेज डेस्टिनी कम्युनिटी कोअपरेसन एन्ड डेभलपमेन्ट कन्फेरेन्स’ र ‘२०१८ बेल्ट एन्ड रोड रेल ट्रान्जिट इन्टरनेसनल समिट’मा सहभागिता जनायो ।

शक्तिबहादुर बस्नेत, वन तथा वातावरणमन्त्री

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो पहिलो विदेश भ्रमण अमेरिकाबाट गरेका थिए । त्यसैगरी उनीसहितको प्रतिनिधिमण्डलले क्रेज रिपब्लिकमा सम्पन्न ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इको सिस्टम प्रोटेक्सन प्रोग्राम (जीएसएलईपी), स्टेरिङ कमिटी मिटिङ’मा सहभागिता जनाएका थिए । त्यसपछि मन्त्री बस्नेत चीनको भ्रमणमा निस्किए ।

गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

चीनको युनान प्रान्तको कुनमिनमा भएको ‘थर्ड फोरम अन चाइना–साउथ एसिया टेक्नोलोजी ट्रान्सफर एन्ड कोलाबोरेटिभ इन्नोभेसन’ विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल सहभागी भएका थिए । त्यस्तै, भारतको नयाँ दिल्लीमा सम्पन्न दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा शिक्षामन्त्री पोखरेलले सहभागिता जनाएका थिए । त्यस्तै मन्त्री पोखरेल कोरियाको सियोलमा सम्पन्न ‘२०१८ ग्लोबल आईसीटी लिडरसिप फोरम’मा पनि सहभागी भए । अस्ट्रियाको भियनामा भएको आईएईए मिनिस्टेरियल कन्फेरेन्स अन न्युक्लियर साइन्स एन्ड टेक्नोलोजी ः एड्रेसिङ करेन्ट एन्ड इमर्जिङ डेभलपमेन्ट च्यालेन्जेज’ कार्यक्रममा पनि मन्त्री पोखरेल सहभागी भए ।

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

मङ्गोलियाको उलनाबटारमा आयोजित भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका लागि अन्तर्राष्ट्रिय प्रबुद्ध समूहको मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिएका थिए । त्यसको केही समयपछि मन्त्री ज्ञवालीसहितको प्रतिनिधिमण्डलले पार्चुगल, बेल्जियम र लक्जेम्बर्गको भ्रमण ग¥यो । भियनामा सम्पन्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औं महासम्मेलनमा ज्ञवालीसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । त्यस्तै ज्ञवालीले जापान र थाइल्याण्डको पनि औपचारिक भ्रमण गरे । त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीसहितको प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेसँगको भेटवार्ताका लागि अमेरिका पुग्यो ।

रवीन्द्र अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

क्यानडा र अमेरिकामा आयोजित ‘आईसीएओ काउन्सिल प्रेसिडेन्ट सर्टिफिकेट’ तथा ‘स्किल, नलेज एन्ड टेक्नोलोजी ट्रन्सफर इन नेपाल’जस्ता कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाग लिएका थिए । त्यसपछि अधिकारीको प्रतिनिधिमण्डलले चीनको लिसनमा आयोजित ‘फिफ्ट सिचुआन इन्टरनेसनल ट्राभल एक्सपो’मा सहभागिता जनायो । त्यसैगरी मन्त्री अधिकारीको प्रतिनिधिमण्डल बङ्गलादेशको ढाकामा आयोजित ‘सेकेन्ड बिम्स्टेक मिनिस्टेरियल मिटिङ अन कल्चर एन्ड कल्चर फेस्टिभल, २०१८’ मा सहभागी भएको छ । त्यस्तै लन्डनमा आयोजित ‘वल्र्ड टुरिजम मार्ट–२०१८’ मा पनि मन्त्री अधिकारी सहभागी भए ।

उपेन्द्र यादव, उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

भारतमा भएको एक कार्यक्रममा उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । त्यसैगरी उपप्रधानमन्त्री यादव थाइल्यान्डको महिडोल विश्वविद्यालयको एक कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै भियतनामको हनोई सहरमा आयोजित ‘थर्ड इडिसन अफ दि इन्डियन ओसियन कन्फेरेन्स २०१८’मा पनि मन्त्री यादव सहभागी भए । त्यसको केही समयपछि फेरि यादव बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा सहभागी भए । त्यसैगरी उनी कजाकस्तानको अस्तानमा भएको एक कार्यक्रममा सहभागी भए । अर्को एक कार्यक्रमका लागि फेरि भारतको नयाँ दिल्ली पुगे । टर्कीको आनटल्यामा भएको अर्को कार्यक्रममा पनि उनी सहभागी भए ।

बिना मगर, खानेपानीमन्त्री

खानेपानीमन्त्री बिना मगरले भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा भाग लिइन् । त्यसैगरी मन्त्री मगरले गैरआवासीय नेपाली सङ्घ दुबईको कार्यक्रममा सहभागिता जनाइन् ।

वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बङ्गलादेशमा सम्पन्न ऊर्जा सप्ताह मन्त्रीस्तरीय सेसनमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सहभागिता जनाए ।

जगतबहादुर सुनार (विश्वकर्मा), युवा तथा खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारसहितको प्रतिनिधिमण्डलले इन्डोनेसियाको जाकार्तामा भदौ २ देखि १७ सम्म भएको १८औं एसियाली खेलमा सहभागिता जनायो । त्यसैगरी मन्त्री सुनारले डा. अम्बेडकर इन्टरनेसनल अवार्ड २०१८ ग्रहण गर्न भारत भ्रमण गरे ।

लालबाबु पण्डित, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहितको प्रतिनिधिमण्डलले चीनको छेङ्दुमा आयोजित ‘दि सेभेन्टिन्थ वेस्टर्न चाइना इन्टरनेसनल फेयर (डब्लुसीआईएफ)’ कार्यक्रममा सहभागिता जनायो । त्यसैगरी मन्त्री पण्डितसहितको प्रतिनिधिमण्डलले भारत भ्रमण गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जापानको टोकियोमा आयोजित एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५७औं अधिवेशनमा भाग लिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा

इथियोपियाको एडिस एबाबामा आयोजित ‘यूपीयू’को ‘सेकेन्ड एक्स्ट्राअर्डिनरी कङ्ग्रेस’मा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा सहभागी भए । त्यस्तै मन्त्री बाँस्कोटाले कोरियामा सम्पन्न ‘आईसीटी मिनिस्टेरियल मिटिङ २०१८’ र ‘आईओटी कोरिया एक्जिबिसन २०१८’मा सहभागिता जनाए । मन्त्री बास्कोटाले नयाँ दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कङ्ग्रेस २०१८’ र दुबईमा आयोजित ‘आईटीयू प्लेनिपोटेन्सियरी कन्फेरेन्स (पीपी–१८)’मा पनि सहभागी भए ।

पद्मकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीवी निबारणमन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालल चीनमा आयोजित ‘युनाइटेड नेसन ग्लोबल जियोस्पेसियल इन्फर्मेसन कङ्ग्रेस (यूएनडब्ल्यूजीआईसी)’ विषयक विश्व सम्मेलनमा सहभागिता जनाइन् । त्यसअघि कृषि, भूमि तथा सहकारी राज्यमन्त्रीको हैसियतमा अर्यालले ब्राजिलमा आयोजित ‘ग्लोबल एग्रिबिजनेस फोरम’मा सहभागिता जनाएकी थिइन् ।

डा. सुरेन्द्रकुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिए ।