नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती अज्ञात समुहले बम पड्काए क्षती पुराएपछि वैदेशिक रोजगार व्यवसायीहरुले घटनाको कडा रुपमा निन्दा गरेका छन् ।
शनिबार विहान संघमा आबद्ध व्यवसायीहरुको भेलाले अध्यक्ष गुरुङको घरमा भएको शक्तिशाली बम विस्फोटको भत्र्सना गर्दै आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने पनि निर्णय गरेका छन् ।
‘अध्यक्ष गुरुङको घरमा अज्ञात समुहले गरेको बम विस्फोटको संघले भर्त्सना गर्छ,’ संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले बताए । निर्वाध रुपमा जीवन यापन गर्न पाउनु सम्पूर्ण नागरिकको अधिकार हो, एउटा व्यवसायीलाई आतंकित पार्ने र क्षति पुराउने उद्देश्यले गरिएको यस्तो घटनाको संघले कडाभन्दा कडा रुपमा निन्दा गर्ने उनले बताए ।
संघका अध्यक्षको घरमा गरिएको विस्फोटको भत्तर्सना गर्दै ११ सय बढि म्यानपावर कम्पनीका कार्यालय आइतबार बन्द गर्ने निर्णय पनि भएको भान्तनाले जानकारी दिए ।
श्रममन्त्रीले गरे गुरुङको घर निरिक्षण
संघका अध्यक्ष गुरुङको घरमा अज्ञात समुहले गराएको बम विस्फोटको निरिक्षण गर्न शनिबार विहान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट गुरुङको निवास बसुन्धरा पुगे ।
क्षतिग्रस्त निवासको निरिक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल भएको बताउँदै व्यवसायीको अभिभावकत्व निभाउने बताए । ‘घटनापछि संवेदनशिल भएर छानविन गर्नका मैले प्रहरी प्रमुख र गृहसचिवलाई समेत भनेको छु,’ उनले भने ।