घरमै पानी आएपछि स्थानीयवासी हर्षित

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टौं हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टौं खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताए। ‘पानीको धारा घरघरमै भएको हुनाले घरको काम पनि बेलामै गर्न पाइएको छ, अहिले त दैनिकी नै फेरिएको छ,’ उनले भने।

आयोजना निर्माण हुनु अगाडि खानेपानीको जोहो गर्ने पीरले सताइरहने उनले बताए। लम्सालका अनुसार एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । बिहान–बेलुकाको समय पानीको आशमा लाइन बसेरै बित्थ्यो । उनले भने, “दिउँसो २ बजे पानी लिन गइयो भने फर्कँदा साँझ पथ्र्यो ।”

उनका अनुसार पानीको अभावमा जमीन पनि बाँझै भएपछि तरकारीको लागि बजारमा भर पर्नुपर्ने अवस्था रहेको थियो । अब भने उक्त समस्या हटेको उनले जानकारी दिए। घरघरमै पानीको धारा जडान भएपछि यहाँका स्थानीयवासीले तरकारी खेतीसमेत शुरु गरेका छन् । ‘सबैले आफूलाई पुग्ने तरकारी आफैं खेती गर्न शुरु गरेका छन्’, उनले भने।

स्थानीय सरस्वती रेग्मीले घरमै खानेपानी आएपछि सहज भएको बताए। उनले भने, “पानी खोज्न गाउँका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो । अहिले घरमै पानी आएपछि खुशी लागेको छ ।” रु दुई करोड तीन लाख २५ हजार ८९९ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको लालिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकारबाट रु एक करोड ४२ लाख ७६ हजार ९३० सहयोग भएको छ भने स्थानीयवासीले रु ६० लाख ४८ हजार ९९६ बराबरको जनश्रमदान गरेका छन् । विसं २०६८ बाट निर्माण शुरु भएको खानेपानी आयोजना सात वर्षको प्रयासपछि सम्पन्न भएको हो ।

आयोजनाबाट यस ठाउँका ५०९ घरधुरीका चार हजार ३०४ लाभान्वित भएका छन् । पाँच सय ९ घरधुरीमा नै धारा जडान गरिएको छ । गरजुरे लम्धी खोला कालमुढाको दोभानको मुहानबाट ल्याइएको पानी ५०/५० हजार लिटरका दुई ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिएको छ । मुहान र ट्याङ्कीको दूरी १३ किमी छ ।