नेपाली कामदारको कोटा बढाउँदै कोरिया : २०१९ मा १० हजार ५० कामदार लिने

कोरियाले यो वर्ष अहिलेसम्मकै बढी कामदार लिने तयारी गरेको छ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ ।

काठमाडौं । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लिने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत प्रत्येक वर्ष नेपाली कामदार लिँदै आएको छ । कोरियाले यो वर्ष अहिलेसम्मकै बढी कामदार लिने तयारी गरेको छ ।

ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याङ्कनमा नेपाली अगाडि देखिएपछि नेपालबाट कामदार लिने कोटा बढाइएको बताइएको छ ।

कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार लिँदै आएको छ । कोरिया जाने नेपाली कामदारको न्यूनतम तलब मासिक ८ सय १५ अमेरिकी डलर हुन्छ ।