ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको सम्भावना छ – बोल्टन

अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध विकास गर्नका लागि लामो समय खर्चेको बताउँदै दुवै नेताबीच आपसी विश्वास अझ प्रगाढ र सुदृढ भएको स्पष्ट पारे ।

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग तेस्रो शिखर वार्ता गर्न आफू खुला रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध विकास गर्नका लागि लामो समय खर्चेको बताउँदै दुवै नेताबीच आपसी विश्वास अझ प्रगाढ र सुदृढ भएको स्पष्ट पारे ।

किमसँग तेस्रो शिखर वार्ता गर्नका लागि ट्रम्प तयार छन् तर समयतालिका भने तय नभएकाे भन्दै बोल्टनले केही समयका लागि दुई नेताबीच बिदावारी मात्र भएको बताए ।

उत्तर कोरियाबाट प्राप्त उपग्रहीय चित्रको विश्लेषणका बारेमा सोधिएको एक प्रश्नमा बोल्टनले कुनै एक व्यावसायिक उपग्रहीय तस्वीरका आधारमा आफूले कुनै अनुमान गर्न नसक्ने स्पष्ट गरे ।

उनले उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी थालेको भनी आएका समाचारका बारेमा वासिङटनले प्योङयाङसँग कुनै सोधीखोजी नगरेको पनि बताए ।

केही दिनअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि परीक्षण ‘साइट’ पुनः निर्माण गर्न लागेको भनी आएका समाचार सही भए त्यो निराशाजनक हुने प्रतिक्रिया दिएका थिए ।

उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुले दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको शिखर वार्ता भएको थियो ।

सो वार्तामा कुनै पनि विषयमा सम्झौता भने नभएको बताइएको छ । उनीहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाइ छ ।

उनीहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो ।

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ । हनोइ बैठकपछि राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘कुनै विषयमा सम्झौता नै नभए पनि वार्तालाई भने निरन्तरता दिइने छ, हनोई वार्ता सकारात्मक भएको छ ।’ रासस/सिन्ह्वा